लहान, भदौ १३ । सिरहा जिल्लाको गाउँ गाउँमा यतिबेला शौचालय निर्माणको काम तीव्र रुपमा भइरहेको छ । सिरहा जिल्लालाई सन् २०१६ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्देश्यका साथ हालसम्म जिल्लाका २० वटा गाविस खुला दिसामुक्त घोषणा भइसकेको छ ।
घरघरमा शौचालयको पहुँच पु¥याएर खुला दिसामुक्त घोषणा गर्ने योजनाअनुसार कुल ६३ गाविसमध्ये हालसम्म २० वटा गाविस घोषणा भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सिरहाले जनाएको छ ।
घोषणा गर्न बाँकी ४३ वटा गाविसमा पनि तीव्ररुपमा शौचालय निर्माणको काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानका इञ्जिनियर कृष्ण साहले जानकारी दिनुभयो ।
सन् २०१५ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिए पनि गत वर्षको मधेस आन्दोलनका कारण प्रभावित भएको थियो ।
लागुऔषध गाँजासहित युवक पक्राउ
प्रहरीको गस्ती टोलीले आइतबार साँझ सिरहाको राजपुर–१ बाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीको गस्ती टोलीले लागुऔषध गाँजा तयारी अवस्थाका ६ किलो र १६ बोट गाँजासहित स्थानीय २५ वर्षीय भरतकुमार यादवलाई पक्राउ गरेको हो ।
यादवले आफ्नै घर कोठामा गाँजा लुकाइछिपाइ राखेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा गाँजा बरामद भएकाले गाँजासहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । रासस