काठमाडौं, भदौ २४ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले मनमोहन मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा राजनीति गरेको आरोप लगाउनु भएको छ ।
मनमोहन मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । नेता नेपालले मनमोहनको नाममा खोलिएको प्रतिष्ठानमा विरोध नगर्न कांग्रेसलाई चेतावनी समेत दिनु भयो ।
स्वास्थ्य क्षेत्र सेवामूलक हुनुपर्ने भन्दै उहाँले स्वास्थ्यलाई नाफामूलक व्यवसायका रुपमा नलिन पनि आग्रह गर्नु भयो । शिक्षा, स्वास्थ्यलाई सर्वसुलभ बनाउन आवश्यक रहेको भन्दै उहाँले चिकित्सा नीति ल्याउन सरकारलाई सुझाव दिनु भयो ।
सो कार्यक्रममा अन्य वक्ताहरुले भने शिक्षा र स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्ने, ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा चिकित्सकको अभाव रहेकोले स्वास्थ्यलाई ग्रामीण केन्द्रित बनाउनु पर्ने धारणा राखेका थिए ।