काठमाडौँ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन्। उनले एक हजार ६५२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गरेका थिए। यसअघिका निर्वाचनमा जस्तै यस पटक पनि काँग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा विजय प्राप्त गरेको छ ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डा ढुण्डिराज पौडेलले एक हजार ६१७ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी डा सन्तोष पौडेलले एक हजार १०७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा डा मुकुन्द दाहालले एक हजार ५०९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी डा शिवेन्द्र झाले एक हजार १५१ मत प्राप्त गरे।
महासचिवमा डा लोचन कार्की विजयी भए। उनले एक हजार ३०० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धीद्वय डा अजयकुमार मिश्रले ७१८ र स्वतन्त्र उम्मेदवार डा पुष्पमणि खरालले ७१२ मत प्राप्त गरे।
त्यसैगरी कोषाध्यक्षमा भने समावेशी समूहका डा रक्षा श्रेष्ठले एक हजार ४३९ मत प्राप्त गरी विजयी प्राप्त गरिन्।
सहसचिवमा डा अभिमन्यू झाले एक हजार ४५८ प्राप्त गरी विजयी भए। सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी एक हजार ३७४ मत प्राप्त गरी विजयी भए। सदस्यमा डा सञ्जीव तिवारी, डा शैलेश प्रधान, डा अनिलविक्रम कार्की, डा कृष्ण पौडेल, डा विश्वराज दवाडी र डा बद्री रिजाल निर्वाचित भए।
उपत्यका र उपत्यका बाहिर दुई चरणमा सम्पन्न निर्वाचनमा दुई हजार ८६९ मत खसेको थियो । काठमाडौँ उपत्यकामा एक हजार ४७५ र उपत्यका बाहिरका १५ शाखाबाट एक हजार ३९४ मत खसेका थियो । सङ्घमा पाँच हजार ३०५ सदस्य रहेका छन् । रासस