काठमान्डौ भदौ २९ । आज राष्ट्रिय बाल दिवस, मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइदै छ । दिवसका अवसरमा मुलुकभरका बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयहरुले अलग अलग कार्यक्रम आयोजना गरेका छन्। दिवसको यस वर्षको नारा सम्बद्र्धन बालअधिकारकोः कार्यान्वयन संविधानको’ भन्ने तय गरिएको छ ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार काठमाडौं उपत्यकामा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै रहेको छ । काठमाडौंसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ । जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या एक करोड पाँच लाख ४६ हजार अर्थात कूल जनसंख्याको ३९.८ प्रतिशत रहेको छ ।