महिला संघमा आज नेतृत्व चयनका लागि मतदान हुने

समाचार

काठमान्डौ भदौ ३१ ।  नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको राजधानीमा जारी तेस्रो महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदै छ । मतदान प्रक्रिया राष्ट्रिय सभागृहमा केहिवेर पछि सुरु हुने जनाइएको छ । े मतदानका लागि ३५ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ । अपराह्न ५ बजे मतदान सकिए लगत्तै कांग्रेस केन्द्रीय कार्यलय सानेपामा मतगणना हुने र साँझ सम्ममा मतपरिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

संघको कुल ५३ सदस्यका लागि झन्डै डेढ सयजनाले उम्मेदवारी दिएका छन् । संघको सभापतिमा उमा रेग्मी र मीना पाण्डेको उम्मेदवारी परेको छ । संघको अध्यक्षमा दुई, महासचिवमा तीन र कोषाध्यक्षमा दुईजनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

संघको सभापतिमा देउवा समूहबाट रेग्मी र पौडेल समूहबाट पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्। महासचिवमा भने तीनजनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट महासचिवमा धना खतिवडाको र पौडेल प्यालनबाट गोमा केसीले उम्मेदवारी दिनु भएको छ भने किरणकुमारी सरकारले स्वतन्त्र रूपमा उम्मेदवारी दिनु भएको छ ।

कोषाध्यक्षमा पौडेल पक्षबाट कुसुमदेवी थापा र संस्थापन पक्षबाट जानकी सिंहको उम्मेदवारी परेको छ । संघको विधानमा खुला २२ जना, प्रत्येक प्रदेशबाट तीन÷तीन जना, आदिवासी, मधेसी तीन र दलितबाट एकजनाका साथै मुस्लिमबाट एकजना सदस्यसहित ५३ जना सदस्य निर्वा्चित हुने प्रावधान छ ।

खुला सदस्यका लागि ४७ जना, प्रदेश नम्बर १ मा ६ जना, प्रदेश २ मा ७, प्रदेश ३ मा ७, प्रदेश ४ मा ७, प्रदेश ५ मा ९, प्रदेश ६ मा ६ र प्रदेश ७ मा नौ जनाको उम्मेदवारी परेको छ । त्यस्तै जनजाति ३ सदस्यका लागि १३ जना, दलित १ का लागि ७ जना, मुस्लिम १ का लागि ३ जना र मधेसी ३ का लागि ८ जनाको उम्मेदवारी परेको छ ।