लिगलिगमा नयाँ राजा छानिदै

समाचार

बिकास भट्टराई /६ असाेज गाेरखा  ।  लिगलिगको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्ने भन्दै लिगलिग कोट बिकास अभियानले यसवर्ष पनि बडा दशैंको अबसर पारेर  लिगलिगे दौडको आयोजना गर्न लागेको हो ।

यस  वर्षकाे दौड असाेज २१ गते हुने भएकाे हाे ।  आजभन्दा करिव ४५५ वर्षअघि देखि वि.स. १६१६ बाट लिगलिगमा एक वर्षका लागि नयाँ राजा छानिने परम्परा थियो ।

दौड  २१ गते बिहान सातबजे चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरिने आयोजक लिगलिग बिकास अभियानले जानकारी दिएकाे छ ।

दौड चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, साउनेपानी, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गडीसम्मको १३ .५ किलोमिटर दुरी पार गर्नुपर्नेछ ।

बि.सं १६०४ को असोज शुक्ल बिजयादशमीका दिन पहिलोपटक १९ बर्षका दलसुर घलेले पहिलो चोटी लिगलिगे दौड प्रतियोगितामा जितेर राजा भएदेखि यहाँ दौडेर पहिलो हुने एक वर्षका लागि राजा बन्ने परम्परा बसेको थियो ।

उनले १६१५ सम्म लगातार दौड जितेर राजा बनेका इतिहास छ । बिसं १६१६ मा द्रव्य शाह दौडेर राजा भएपछि गोरखा राज्यमा शाहवंशको उदय भएको थियो ।

प्रतियोगिताको विजेताले नगद ५० हजार पाँचसय पाँच रुपैयाँ, पगरी मेडल र प्रमाणपत्रप्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले नगद २५ हजार २ सय पाँचसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै तेस्रो हुनेले १५ हजार १ सय १ सहित मेडल र प्रमाणपत्र चौथो हुनेलाई १० हजार एक सय ५ रुपयाँ नगद, मेडल र प्रमाणपत्र को व्यवस्था गरिएको छ ।