चितवन, असोज ७ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकारका संस्था सक्षम भए आम पत्रकार सक्षम बन्न सहयोग पुग्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको आज अवलोकन गर्दै उहाँले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । मन्त्री थापाले पत्रकारिता क्षेत्रबाट पत्रकार बाँच्न सक्नुपर्ने भन्दै त्यसका लागि सरकारी तवरबाट हुनसक्ने सहयोगका लागि सरकार सकारात्मक बन्नुपर्ने पनि बताउनुभयो ।
देशमा नै पहिलोपटक नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नै भवन बनाउन लागेकोमा खुसी व्यक्त गर्दै उहाँले यसले देशका अन्य शाखालाई पनि प्रेरणा मिल्ने बताउनुभयो । जग्गा दान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठ, आर्थिक सहयोग गर्ने दाता र निर्माणमा जुट्ने पत्रकारप्रति मन्त्री थापाले आभार व्यक्त गर्नुभयो ।
सोही क्रममा भेटघाट रेस्टुराँका सञ्चालक गोविन्दप्रसाद तिवारीले भवन निर्माणका लागि मन्त्री थापा मार्फत नेपाल प्रेस युनियनलाई रु एक लाख पाँच हजारको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा युनियनका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीले भवनका बारेमा जानकारी गराउनुभयो ।