काठमान्डौ ७ असोज । संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच अमेरिकामा भेटवार्ता भएको छ ।
भेटमा दुई देशबीचको सम्बन्ध एवम् आपसी चासोका विषयमा छलफल भएको बताइएको छ । सो क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको आगामी १९ आँै शिखर सम्मेलनका बारेमा समेत छलफल भएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिनुभयो ।
यस्तै पाकिस्तानमा आयोजना हुने सार्कको आगामी शिखर सम्मेलनका लागि भइरहेका काम एवम् द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । प्रधानमन्त्री सरिफले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको सफल कार्यकालको कामनासमेत गर्नुभएको थियो ।
त्यस्तै भेटवार्तामा द्विपक्षीय आर्थिक तथा अन्य चासोका विषयमा समेत दुबै मुलुक मिलेर काम गर्ने विषयमा महत्वपूर्ण छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।