काठमान्डौ ,असोज १० । चितवन जिल्ला अदालतमा आज पनि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा सुनुवाई जारी रहेको छ । आज सो प्रकरणमा ११ जना वकिलले थप बहस गर्ने छन् । हिजो जिल्ला न्यायाधीश टेकनारायण कुवँरको एकल इजलासमा वादी र प्रतिवादीको तर्फबाट ९ जनाले बहस गरेका थिए ।
बहसका लागि नाम टिपाएका २० मध्ये जिल्ला न्यायाधिवक्ता मणीराम न्यौपाने र सहायक जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारी तथा अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम गिरी, आशिकराम कार्की, इन्द्र अर्याल, गोपालकृष्ण घिमिरे, पुष्पराज पौडेल र काशीराम ढुंगानाले बहस गरिसकेका छन् ।
प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएकोले यो अन्तिम पेशी तोकिएको हो । २०६१ जेठ २४ गते तत्कालिन नेकपा माओवादीले कृष्णप्रसाद अधिकारीको रत्ननगरमा हत्या गरेका थिए । सोही आधारमा उनका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि मृतकका दाजु नूरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएका मध्ये ८ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारिखमा छोडेको थियो । सो घटनामा संलग्न भनिएका दुई जना अझै सम्पर्कमा आएका छैनन् । छोराको हत्यारालाई कारवाही माग गर्दै अनशनरत हुँदै दुई वर्ष पहिले नन्दप्रसादको निधन भएको छ भने आमा गंगामाया पनि निरन्तर अनशनमा बस्दै आउनु भएको छ । पछिल्लो आमरण अनशन भने अदालतलाई बकपत्र दिनका लागि भन्दै उहाले गत भदौं २७ गते तोड्नु भएको थियो ।