खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन

समाचार

चितवन, असोज १०। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।

दुर्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उहाँले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्यार्इं नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभयो । त्यस क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी घटनास्थलको अवस्था र खोजी कार्यको बारेमा जानकारी गराउनुभएको थियो ।

सो क्रममा प्रधानमन्त्री दाहालले मन्त्री लेखकसँग बङ्गलादेशमा पानीभित्र हराइरहेका मानिस र गाडी पत्ता लगाउने गोताखोर भएको आफूले सुनेको बताउँदै त्यसलाई झिकाउन कूटनीतिक पहल गर्ने बताउनुभयो । अन्य स्रोतसाधनका विषयमा पनि उच्च सुरक्षा निकायसँग तत्काल छलफल गर्ने प्रधानमन्त्रीले बताएको लेखकले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले भैसालोटन ब्यारेज बन्द गरेर त्यो क्षेत्रसम्म खोजी कार्यलाई तीव्रता दिन स्थानीय सुरक्षा निकायलाई निर्देशन दिनुभयो । मन्त्री लेखकले स्थानीयस्तरमा खोजी कार्यका कुनै विशेषज्ञ छन् भने खोज्न आग्रहसमेत गर्नुभयो ।

मन्त्री लेखकले दुर्घटनास्थलमा भाँचिएको रेलिङ तत्काल मर्मत गर्न निर्देशन दिनुभयो । उहाँले त्रिशूली नदी तटीय क्षेत्रमा अत्यधिक दुर्घटना बढेको भन्दै उच्च जोखिम क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

घटनास्थलको निरीक्षण गर्न आउनुभएका मन्त्री लेखकले त्रिशूली नदी तटीय क्षेत्रलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर भएको भन्दै यस विषयमा मन्त्रिपरिषद्मा पनि छलफल हुने बताउनुभयो । बाटोमा सवारीसाधन बिग्रिएर सडक अवरुद्ध हुने र दुर्घटना बढाउने भन्दै यो क्षेत्रमा एउटा क्रेन राखेर बिग्रिएका सवारी तत्काल हटाउने व्यवस्था गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नदीको २५ मिटर गहिराइसम्म गएर खोजी कार्य गरिएको बताउँदै त्योभन्दा पनि गहिराइमा जाने प्रविधि र जनशक्ति आफूहरुसँग नभएको जानकारी दिनुभयो ।

तीनवटा डुङ्गा र एउटा ¥याफ्टिङ प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी खोजी कार्यमा जुटिरहेका छन् । मध्याह्न १२ बजेसम्म बेपत्ता तीनजना र गाडी पत्ता लगाउन सकिएको छैन ।

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उहाँका तीन दाजुभाइ आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस– ३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता हुनुभएको थियो ।

प्रजिअ विनोदप्रकाश सिंहका अनुसार गएराति १ः३० बजेसम्म खोजी कार्य जारी राखेको भए पनि फेला पार्न नसकिएपछि बिहान ५ः३० बजेबाट पुनः खोजी कार्य जारी राखिएको छ ।सोही ठाउँबाट केही दिनअघि त्रिशूलीमा खसेको ट्रक पनि अझै बेपत्ता छ । पानी धमिलो र खोलाको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भएको छ । रासस