‘शक्तिशाली’ भारतीय सैनिक कागजमा मात्र सिमित

समाचार

नयाँ दिल्ली सेप्टेम्बर २७ : सेप्टेम्बर १८  मा उरीमा भएको आतंकवादी हमलामा १८ जना सैनिक मारिएपछि भारतमा यतिबेला पाकिस्तानविरोधी भावना उग्र रुपमा उठेको छ । भारतको आरोप छ, पाकिस्तानले हुर्काएको गुरिल्लाहरुबाटै उक्त हमला भएको थियो । भारतीय सैनिकका अवकास पाइसकेका एक बिग्रेडियरले ‘पाकिस्तानको जुन–जुन पोष्टबाट आतंकवादीहरुलाई भारत छिर्न दिइन्छ, ती सबैलाई खरानी बनाइदिनुपर्छ’ सम्म भन्न भ्याए । पछिल्लो अभिव्यक्तिहरुले लाग्छ, दुई देश आज–भोलिनै युद्धमा होमिनेछन् । तर, वास्तविकता भने त्यो भन्दा धेरै फरक छ ।

भारतमा हुने हरेक चुनावमा पाकिस्तानसँगको सम्बन्धलाई राजनीतिक दलहरुद्वारा प्रमुख मुद्दा बनाइन्छ । चुनावका दौरान सबै नेताहरुले पाकिस्तानमाथि कडाईका साथ प्रस्तुत हुने वाचा गर्छन् । भारतीय प्रधानमन्त्री मोदीको पार्टीले पनि त्यस्तै वाचा गरेको थियो । तर, आफ्ना पूर्ववर्तीहरुजस्तै नरेन्द्र दामोदर मोदीको ‘हिन्दु–राष्ट्रवादी’ सरकार पनि पाकिस्तानमाथि नरम नै देखिएको छ । घटनापछि मोदी सरकारले सेप्टेम्बर २१ मा पाकिस्तानी दूतलाई आफूहरुले यस वर्षमात्र १७ वटा घुसपैठलाई रोकेको ‘जानकारी’ दिएको थियो । तर, पाकिस्तानले त्यसलाई चासो नदिएको भारत सरकारको आरोप थियो । हुनसक्छ, आफूलाई जिम्मेवार देखाउन भारतले पाकिस्तानभन्दा जिम्मेवार भएर कुटनीति प्रदर्शन पनि गरिरहेको छ । यसको साथसाथै परमाणु तनावलाई पनि ध्यानमा राख्दै आफ्नो अर्थतन्त्रमाथि पर्नसक्ने असरलाई पनि भारतले सोचिरहेको छ ।

तर, यी कारण मात्र नभएर भारतपछि हट्नुमा अर्को एउटा मुख्य कारण पनि रहेको छ । त्यो हो भारतको सैन्य शक्तिको कमजोर हालत । भारतको सेना कागजमा देखिने आँकडा जस्तो शक्तिशाली छैन । भारतको अन्तर्राष्ट्रिय महत्वकांक्षा र अर्थतन्त्रमा बृद्धि भएजस्तै, यसको रणनीतिक अवस्थाका बावजुद भारतले आफ्नो सैन्य शक्तिलाई त्यसअनुरुप बृद्धि गर्न सकेको छैन ।

12a1005278a6285ff98ca2f63d93aeab

भारतीय सैन्य शक्ति मात्र कागजमा निकै प्रभावशाली देखिन्छ । चीनपछि भारतसँग विश्वकै सबैभन्दा धेरै सैनिकहरु छन् । यसको साथै फरक–फरक क्षेत्रमा भएका धेरै युद्धमा सामेल भएको अनुभव छ । सन् २०१० देखि भारत हतियार भित्र्याउने शीर्ष देशहरुमा पनि पर्दछ । भारतसँग रसियाको युद्ध विमान, इजारयली मिसाइल, अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट, फ्रेन्च पनडुब्बी छ । भारतले आफै हतियार, फाइटर विमान, क्रुज मिसाइल निर्माण गरेको छ भने कोचीमा ४० हजार टन वजन भएको एयरक्राफ्ट क्यारियर निर्माण गरिरहेको छ ।

तैपनि, भारत कमजोर छ । भारतको हतियारहरु मध्ये धेरै पूरानो र राम्रोसँग मर्मत नगरिएका छन् । ‘हाम्रो हवाई सुरक्षाको स्थिति आश्चर्यजनकरुपमा निकै खराब छ,’ सैन्य मामिलामा जानकार मानिने अजय शुक्ला भन्छन्, ‘हामीसँग धेरै १९७० ताकाको विमानहरु छन् । जसमा नयाँ हतियारहरु फिट गर्न कम्ति १० वर्ष अझै लाग्छ ।’ कागजमा भारतको एयरफोर्स विश्वकै चौंथो ठूलो हो । भारतसँग २ हजार युद्ध विमानहरु रहेका छन् । तर, आइएजएस जेनले प्रकाशित गरेको आन्तरिक रिपोर्टमा यसमध्ये ६० प्रतिशत मात्र उडान भर्न योग्य रहेका छन् । यो वर्षको शुरुमा भारतीय सरकारको एजेन्सीले प्रकाशित गरेको रिपोर्टमा भारतको शान मानिने ४५ एमआइजी २९के जेट विमानहरु मध्ये १६ देखि ३८ मात्र सेवाका लागि योग्य छन् ।

उनीहरुलाई हाल निर्माण गरिरहेको एयरक्राफ्ट क्यारियरबाट उडाउने भनिएपनि १५ वर्षअघि मगाइएको उक्त क्यारियर सन् २०१० मा निर्माण सकिनुपर्नेमा अझै काम जारी छ । यसमा ११५० वटा मोडिफिकेसन भइसकेका छन् र यो २०२३ अघि समुद्रमा पुग्ने सम्भावना कम छ ।

indian-army-actions11

त्यस्तै भारतीय सेनाले प्रयोग गर्ने एसल्ट राइफलमा परिवर्तन गरिनुपर्ने कुरा सन् १९८२ देखि उठ्दै आइरहेको छ । तर, घरेलु उत्पादन प्रयोग गर्ने वा विदेशबाट झिकाउने भन्ने कुरामा नै यो विषय अड्किरहेको छ । पछिल्लो १६ वर्षदेखि भारतीय वायु सेनाले ‘बुढो’ सोभियत मोडलका विमानहरु बदल्न खोजिरहेको छ । तर, महत्वकांक्षी विवरण, मूल्यमा तोलमोल लगायत विषय विदेशी निर्माताका लागि टाउको दुखाईको विषय बनेको छ । चार वर्षअघि फ्रान्सबाट १२६ राफायल फाइटर जेट किन्ने सम्झौता भएको थियो । त्यो पनि घटेर ३६ वटामा फाइनल हुन लागेको छ ।

यति मात्र होइन, भारतीय सेना विभिन्न स्क्याण्डलको शिकार बनेको छ । भ्रष्टाचार भारतीय सेनाको मुख्य समस्या हो । त्यही भएर शक्तिशाली सैन्य उपस्थिति रहेको सेनाको बेसमा पनि आतंकवादी गुरिल्लाहरुले सजिलै प्रवेश पाएर आतंक मच्चाउने गरेका छन् । अझ, सरुवा बढुवामा पनि त्यहाँ ठूलो असन्तुष्टि रहेको छ । गत जुलाईमा २९ जना यात्रुसहित बंगालको खाडीमा खसेको सैन्य विमानको अझै अत्तोपत्तो छैन भने अगस्तमा मात्र अस्ट्रेलियाको पत्रिकाले भारतको नयाँ फ्रेन्च पनडुब्बीको प्राविधिक विवरण लिक गरेको थियो ।

indianmilitaryweaponsthatwillmaketheenemiestremblewithfear7_1431582349

भारतको सैन्य संरचनामा पनि त्यस्तै समस्या छ । भारतको तीन वटा सैन्य संरचनामा तालमेल छैन । सुरक्षा विज्ञ शुक्लाका अनुसार तीन वटा संरचनाहरु एक आपसमा बोल्दैनन् र रक्षा मन्त्रालयका अधिकारीहरु पनि उनीहरुसँग कुरा गदैनन् । रक्षा मन्त्रालयमा पनि सेनाबारे बुझ्ने व्यक्ति भन्दा पनि राजनीतिक नियुक्तिहरु बढी हुन्छन् । मन्त्रालयमा सल्लाहकारको भूमिकामा काम गरिसकेका अभिजित अयैर मित्रा भन्छन्, ‘यति हुँदा हुँदै पनि भारतीय सैनिकको अझै बुद्धि पलाएको छैन ।’