काठमाडौं, असोज १३– माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुदैछ ।
१० वर्षपछि हुन लागेको महाधिवेशनको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । बन्दसत्र भने कार्की पार्टी प्यालेसमा हुनेछ ।
९५ सदस्यीय नयाँ कार्यसमिति तय गर्ने महाधिवेशनमा देशैभरबाट ६ सय प्रतिनिधि सहभागी छन् । महाधिवेशनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, खुल्ला उपाध्यक्ष ३, समावेशी उपाध्यक्ष २, महासचिव १, १ उपमहासचिव र कोषध्यक्ष १ जना चयन हुनेछन् ।
सेन्टरले निर्विरोध कार्यसमिति चयन गर्ने दावी गरे पनि अध्यक्ष लगायतका सबै पदमा आकाक्षी बढी देखिएकाले महाधिवेशनमा ठुलै रस्साकस्सी हुने देखिएको छ ।
अध्यक्षको लागि ओम शर्मा, विष्णु सापकोटा, बलराम थापा, दीपक मैनाली, दिपेन्द्र रोकाया र सचिनज रोकाले दावी गरेका छन् ।
नेतृत्व सर्वसम्मत चयनको प्रयास भइरहेको भएपनि अहिलेसम्म कुरा मिल्न नसकेको बताइएको छ ।