जुवाडेलाई प्रहरीको पनि ‘माया’

समाचार

काठमाडौं, १४ असोज-भक्तपुर सूर्यविनायकको पाण्डुबजारस्थित एक घरमा ३० साउनमा छापा हानी प्रहरीले १० लाख ५४ हजार रकमसहित १६ जुवाडे पक्राउ ग-यो । अनुसन्धानका क्रममा सो जुवाघरमै दैनिक करोडको हारजित हुने गरेको खुल्यो । पक्राउ परेकालाई प्रहरीले जुुवा ऐन, २०२० अनुसार मुद्दा चलायो ।

भक्तपुर जिल्ला अदालतले उनीहरूलाई दुई–दुई सय रुपैयाँ जरिवाना लिएर छाड्ने आदेश दियो । मुद्दा चलेकै दिन उनीहरूलाई कम जरिवानाको फैसला भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । अदालतले जुवाडेलाई थोरै जरिवाना गरेको होइन, कानुनअनुसार त्यो नै अधिकतम सजाय हो ।

जुवा ऐन, २०२० अनुसार जुवा खेल्ने तथा खेलाउनेलाई अधिकतम दुई सय रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । कैद सजायको प्रावधान नै छैन । ५३ वर्षअघिको उक्त कानुन अहिलेसम्म समयानुकूल संशोधन नहुँदा जुवा खेलाउने र खेल्ने सजिलै छुट्ने गरेका छन् । जसका कारण राजधानीमा अवैध जुवाघरहरू मौलाएका छन् ।

 

जुवा ऐनअनुसार अभियुक्तलाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । तर, उपत्यकाका प्रहरीको तथ्यांक हेर्दा उनीहरू एक साताभन्दा धेरै हिरासतमा बस्नुपर्दैन । प्रहरीलाई समेत प्रभावमा पारी उनीहरू केही दिनमै छुट्ने गरेका छन् । गत ३० साउनमा सूर्यविनायकमा पक्राउ परेका १६ जना जुवाडे चौथो दिनमै छुटेका थिए ।

प्रहरीले रातभरि बयान लिएर उनीहरूको मुद्दा छिटै बुझाएको थियो । सोही कारण उनीहरू चार दिन मात्र हिरासतमा बस्नुप-यो । आर्थिक प्रभावका आधारमा महानगरीय प्रहरी वृत्त जगातीले उनीहरूको मुद्दा छिटै बुझाएको स्रोत बताउँछ । उनीहरू पेसेवर जुवाडे हुन्, जो पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए । तर, जतिपटक पक्राउ परे पनि उनीहरूले जुवा खेल्न छाडेका छैनन्।