काठमाडौं, १६ असोज- नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल शनिबार एक घन्टा बन्द भएको छ । धावनमार्गको नियमित मर्मतसम्भारमा ढिलाइले विमानस्थलमा उडान अवतरण रोकिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
बिहान ६ बजेदेखि एक घन्टा विमानस्थल बन्द गरिँदा दुई जहाज आकासमै होल्ड गरिएको थियो भने एउटा जहाज डाइभर्ट गरिएको भयो । विमानस्थल बन्द भएपछि टर्किस एयर र नेपाल एयरलाइन्सको जहाज आकासमै होल्ड गरिएको थियो । फ्लाई दुबईको जहाजलाई भने लखनउ डाइभर्ट गरिएको विमानस्थल व्यवस्थापनले जानकारी दिएको छ ।
जहाज होल्ड या डाइभर्ट गर्नुपर्दा एउटै उडानमा कम्पनीले ठूलो घाटा बेहोर्नुपर्छ । सामान्यतया त्रिभुवन विमानस्थल रातको १२ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुन्छ । तर, पछिल्लो समय नेपाल एयरलाइन्सका जहाज विभिन्न गन्तव्यबाट आइपुग्दा ढिला हुने भएकाले डेढ घन्टासम्म खुल्ने गरेको थियो । शनिबार भत्काइएको धावनमार्ग मर्मतको काम पूरा हुन नसकेर उडान प्रभावित भएपछि रातको १२ बजेपछि आउने सबै विमान अनिवार्य डाइभर्ट गर्नुपर्ने निर्णय व्यवस्थापनले गरेको छ ।