डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सक र विद्यार्थी आन्दोलित

समाचार

काठमाडौं, असोज १७ । बिगत सात दिनेदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै शिक्षण अस्पताल महाराजगञ्जका सबै आवासीय चिकित्सक तथा विद्यार्थीले आन्दोलन सुरु गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गरी उनीहरूले आफ्नो सबै शैक्षिक कार्यक्रममा सहभागी नहुने जानकारी गराएका छन्। १८ गतेदेखि अप्रेसन र इमरजेन्सी सेवाबाहेक सबै शैक्षिक कार्यक्रममा सहभागी नहुने बताएका छन।

डा. केसीको माग पूरा छिटोभन्दा छिटो पूरा गराउन उनीहरूले माग गरेका छन्। ‘डा. केसीको माग मेडिकल शिक्षा सुधार तथा समग्र स्वास्थ्यक्षेत्रकै हितका लागि भएको हुनाले हामी उहाँको आन्दोलनमा ऐक्यवद्धता जनाउँछौं,’ रेजिडेन्ट चिकित्सक एसोसिएसनका अध्यक्ष लिजन महर्जन र सचिव सचित शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

व्यवस्थापिका संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको यही अधिवेशनबाट पारित हुनुपर्ने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायत माग गर्दै डा. केसी नवौंपटक अनसन बसेका हुन् ।

Post Comment