यी हुन् भाग्यमानी प्रहरी अधिकृत, जो वर्षकै उत्कृष्ट बने

समाचार

काठमाडौं, १८ असोज-नेपाल प्रहरीले हरेक वर्ष प्रदान गर्ने प्रहरी ब्याटल यस वर्ष पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमलसिंह बमले प्राप्त गरेका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानले हरेक वर्ष देशभरिका प्रहरी कार्यालयको कार्यक्षमता तथा दक्षता मूल्यांकनका आधारमा उत्कृष्ट ठहर गर्दै बमलाई प्रहरी ब्याटल प्रदान गर्न लागिएको राजधानी दैनिकमा खबर छापिएको छ ।

गत वर्ष पनि क्षेत्रीय प्रहरी कार्यालय पोखरालाई नै सो ब्याटल प्रदान गरिएको थियो । त्यतिबेला डीआईजी बमबहादुर भण्डारी प्रमुख थिए । यस वर्ष पूर्वाञ्चल प्रहरी कार्यालयका प्रमुख डीआईजी केशरीराज घिमिरे र मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी माधव नेपालको चर्चा भए पनि पोखराले नै प्रहरी ब्याटल पाउन सफल भएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार देशभरका अञ्चल प्रहरी कार्यालयमध्ये भेरी अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरु बस्न्यात उत्कृष्ट अञ्चल प्रहरी कार्यालय प्रमुखका रूपमा पुरस्कृत भएका छन् । अञ्चल प्रहरी कार्यालयमा सुुधार तथा अपराध नियन्त्रणमा उल्लेखनीय काम गरेको भन्दै भेरी प्रमुख बस्न्यातलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।

यस्तै, पहाडी जिल्लामा काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेशनाथ बाँस्तोला उत्कृष्ट जिल्ला प्रमुखका रूपमा पुरस्कृत हुने भएका छन् । उनले यातायात व्यवसायीको सिन्डिकेट तोड्न प्रमुख भूमिका खेलेका थिए । त्यसैगरी, तराईका जिल्लाहरूमा चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवर पुरस्कृत भएका छन् । त्यसैगरी, पूर्वक्षेत्रीय दंगा प्रहरी गण, सशस्त्र प्रहरी गुल्म, इलाका प्रहरी कार्यालय टीकापुर कैलाली, बयलपाटा अछाम, नवलपरासी कारागार, प्रहरी चौकी हिले धनकुटा, क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका प्रकाश अधिकारी पनि उत्कृष्ट भएका छन् । यस्तै, क्षेत्रीय तालिम केन्द्र बुटवलका कमल जीटी र जिल्ला ट्राफिक कार्यालय चितवन पनि पुरस्कृत भएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रदान गर्ने उत्कृष्ट अपराध अनुसन्धानतर्फको र पूर्ण शान्ति पुरस्कार भने अझै निर्णय गरिसकेको छैन । प्रहरीले २० असोजमा मनाउने प्रहरी दिवसको अवसरमा प्रहरी ब्याटललगायतका सबै पुस्कार प्रदान गर्नेछ । पुरस्कृत गर्न गत साउन महिनादेखि प्रहरी प्रशिक्षण प्रतिष्ठानले आन्तरिक मूल्यांकन गर्दै आएको थियो ।

त्यसमा प्रहरीले दिएको शान्तिसुरक्षा र त्यसबाट जनताले प्राप्त गरेको उपलब्धि, आर्थिक अनुशासन, प्रहरी कवाज, जनतासँगको सम्बन्ध, नेतृत्व क्षमतालगायतका विषयलाई आधार मानेर मूल्यांकन गरिएको थियो । छनोटका क्रममा देशभरका सबै जिल्लामा पुगेर कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको कार्यक्षमता मूल्यांकन गरिएको थियो ।

मुल्यांकणका क्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले काम र कार्यक्षमताका आधारमा छनोट गर्न निर्देशन दिएका थिए । प्रहरीमा उत्कृष्ट कार्यालय घोषणा हुनुलाई निकै गौरवको विषय मान्ने गरिएको छ । ‘कामको मूल्यांकन गर्दै उत्कृष्ट प्रहरी अधिकृतको प्रमाण दिने भएकाले यसलाई निकै महत्वका साथ हेर्ने गरिएको छ, विगतमा भनसुनका आधारमा उत्कृष्ट हुन खोजेको घटना पनि देखिएकाले यसपटक काम, कार्यक्षमता र दक्षतालाई प्रमुख अधिकार बनाउन आईजी सापले निर्देशन दिनुभएको हो, त्यसैअनुसार छनोट गरिएको छ,’ प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले भने ।

 प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेर मनाउने गरेको छ । अमर प्रहरीका परिवारलाई सम्मान तथा भूतपूर्व प्रहरी र प्रहरी संगठनलाई विभिन्न रूपमा सहयोग गर्ने व्यक्ति संघ÷संस्थालाई पनि सम्मान गर्नेछ ।

Post Comment