काठमाडौं, १ कात्तिक-सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरूमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने गरेको देखाएको छ । सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ–राम्दी खण्ड (१२ किलोमिटर), लमही–तुल्सीपुर सडकखण्ड (२९.६२ किलोमिटर), अरनिको राजमार्गको सूर्यविनायक–दोलालघाट खण्ड (४७.१७ किलोमिटर) र भालुवाङ–भाडण्डा–रोल्पा सडकखण्ड (९१ किलोमिटर) मा धेरै दुर्घटना हुने गरेको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
यी सडकलाई विभागले ‘ब्ल्याक स्पट’ मानेको विभागको सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए ।
सडक डिभिजन कार्यालयको माग र निर्माण सम्पन्न भएका तर दुर्घटना दोहोरिरहने सडकखण्डलाई छनोट गरेर विभागले अध्ययन गरेको हो । ‘यसरी गरिएको अध्ययनमा उल्लेखित चार सडकखण्ड सबैभन्दा बढी दुर्घटना हुनेमा परेका हुन्,’ इन्जिनियर पाण्डेले भने ।