अमेरिकाबाटै दिए आईजीपीले निर्देशन : तिमीहरू जाऊ, मन्त्रीसँग मै कुरा गर्छु

समाचार

काठमाडौं, ४ कात्तिक-उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा तानिएका दुई प्रहरी उपरीक्षक (एसपी) प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालको आदेशमा कार्यक्षेत्र फिर्ता भएका छन् ।

आफ्नो आदेशअनुसार अभियुक्त नछाड्ने भन्दै गृहमन्त्री निधिको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालय तानिएका पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहाका श्याम ज्ञवालीलाई आईजीपी अर्यालले बुधबारै कार्यक्षेत्रमा फिर्ता पठाएका हुन् , राजधानी दैनिकमा खबर छापिएको छ ।

आईजीपीको अधिकारलाई चुनौती दिँदै गृहमन्त्री निधिले पर्सामा पक्राउ परेका हुन्डी कारोबारी र सिरहामा अपहरणकारीलाई कारबाही नगर्न दिएको आदेश पालना नगर्दा आईजीपी विदेशमा रहेका बेला पर्साका श्रेष्ठ र सिरहाका ज्ञवालीलाई कारबाहीस्वरूप तानिएको थियो ।

‘गृहमन्त्रीको आदेशमा उनीहरूलाई प्रधान कार्यालय तानिएको थाहा पाएपछि आईजीपी अर्यालले अमेरिकाबाटै एसपीलाई फोन गर्दै कार्यक्षेत्र जान निर्देशन दिएका हुन् ।

‘तिमीहरू कार्यक्षेत्र जाऊ, गृहमन्त्रीसँग म आएर कुरा गर्छु,’ आईजीपी अर्यालको निर्देशन उद्धृत गर्दै प्रधान कार्यालयका एक अधिकारीले राजधानीसँग भने । प्रहरी नियमावलीले एसपीसम्मको सरुवा अधिकार आईजीपीलाई दिएको छ ।

upendra-kanta-aryal

आफ्नो अधिकारप्रति राजनीतिक हस्तक्षेप भयो, यसले राम्रो सन्देश गएन भन्दै आईजीपी अर्यालले दुवै एसपीलाई तत्कालै कार्यक्षेत्रमा फिर्ता गरेको ती अधिकारीको भनाइ छ ।

काममा राम्रो छवि बनाएका दुवै एसपीलाई आईजीपी अर्यालले मधेस आन्दोलनकै बेला जिल्ला प्रमुख बनाएर पठाएका थिए । आइतबार उनीहरूलाई ब्रिफिङका लागि भन्दै प्रधान कार्यालय बोलाइएको थियो ।

तर, उनीहरूलाई न त ब्रिफिङ लिइयो न त गृहमन्त्रीले नै भेट दिए । गृहमन्त्रीलाई भेट्न निमित्त आईजीपी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मासँगै पुगेका दुवै एसपीले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेर फर्केका थिए ।

राजनीतिक हस्तक्षेप नगर्ने भन्दै आएका निधिले धनुषाका एसपी रामदत्त जोशीलाई सरुवा गरेरै छाडेका थिए । पहिलोपटकको हस्तक्षेप सफल भएपछि मन्त्रीले दोस्रोपटक आईजीपी काठमाडौंमा हुँदै सरुवा गर्न निर्देशन दिएका थिए ।

Post Comment