२०,कात्तिक । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताउनुभएको छ ।
साझा प्रकाशनद्वारा प्रकाशित साहित्यकार राम विनयको कथाकृति ‘घर बिनाको घर’ को आज यहाँ लोकार्पण गर्दै नेता नेपालले नेपालीहरु स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न चाहने भएकाले उनीहरुले आफ्ना समस्या समाधानका अरुको दबाब, धम्की, हस्तक्षेप र अनुचित चासो मन नपराउने उल्लेख गर्नुभयो ।
“मुलुकमा अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब देश आर्थिक क्रान्तितर्फ लाग्नुपर्छ, स्रष्टाहरुले त्यसलाई सहयोग पुग्ने गरी साहित्यिक सिर्जना गर्नुपर्छ”,पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो ।
नेता नेपालले साझा प्रकाशनको पुल्चोकको जग्गा लिलामीमा जाने खतरा आउन नहुने जनाउँदै यसलाई राज्यले बचाउनुपर्ने र व्यवस्थापनले बजारको प्रतिस्पर्धालाई ध्यान दिएर कुशलता देखाउनुपर्नेमा जोड दिनुभयो ।