२९ कात्तिक। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख सत्तारुढ घटक काँग्रेसले लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा धोका दिए सरकार टिकाउने जिम्मा आफ्नो भएको बचन दिएको खुलासा भएको छ ।
कार्कीमाथि महाअभियोग प्रक्रिया थाल्नुअघि ओलीको त्यस्तो बचन पाएपछि प्रचण्ड अघि बढेको माओवादी उच्च स्रोतले बतायो । काँग्रेस महाअभियोगको पक्षमा नउभिने बुझेरै एमाले र माओवादी मिलेर महाअभियोग प्रस्ताव दर्ता गराएको ती नेताले बताए । तर, सत्तासाझेदार दल नै प्रस्तावको विपक्षमा उभिए सरकारका अगाडि नैतिक प्रश्न उठ्न सक्ने र काँग्रेसले समर्थन फिर्ता लिएको अवस्थामा सरकार गिर्ने भन्दै प्रचण्डले काँग्रेसलाई समेत सँगै लान उपयुक्त हुने बताएका थिए । तर, ओलीले काँग्रैसले समर्थन फिर्ता लिए सरकार टिकाउने जिम्मा आफ्नो भएको बचन दिएपछि प्रचण्ड कस्सिएका थिए ।