एमाले अध्यक्ष ओलि भन्छन् :-सरकार चटके कुरा गरेर बसेको छ

समाचार

१०,मंसिर । प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकक संक्रमणकालिन अवस्थामा रहेकाले यसबेला संविधान संशोधन नभई कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । सरकारले चटके कुरा गरेर हिँडेको आरोप लगाउँदै उनले यो सरकारले जरुरी नभएका कुरा गर्ने तर जुन कुरा जरुरी छ त्यो नगर्ने उल्लेख गरे ।पोखरा विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै ओलीले वर्तमान सरकार संक्रमणकालको अन्त्य भन्दा पनि संक्रमणकाल लम्ब्याउन लागिपरेको आरोप लगाए । ओलीले भने– ‘संक्रमणकालको अन्त्यका लागि अहिले निर्वाचन गर्नुपर्ने बेलामा सरकार चटके कुरा गरेर बसेको छ । सरकारको केहि कुरामा ध्यान छैन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अर्को वर्ष माघ ७ गतेभित्र तीनतहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने भएकाले निर्वाचन सम्बन्धि कानुन बनाउन र निर्वाचन गराउन सरकारलाई आग्रह गरे । रुपान्तरित व्यवस्थापिका संसदको काम संविधान संशोधन गरेर बसिरहने मात्र नभएको उनले तर्क गरे ।अमुख पात्रलाई खुसी पार्न संविधान संशोधन नहुने भन्दै उनले संविधान संशोधन किन र केका लागि भन्ने प्रश्नप्रमुख रहेको बताए । ‘मुलुक हितमा मात्र संविधान संशानेधन हुन्छ । संशोधनका लागि मात्र संशोधन वा जनतालाई आवश्यक नपर्ने अरुका कसको हो कसको लागि, अमुर्त माग पुरा गराउन संविधान संशोधन हुँदैन’– ओलीले थपे– ‘एमालेले विधेयक दर्ता गराउनै रोकेको भन्ने कुरा विरोधीहरुले फैलाएको हो । सचिवालयमा खुसुक्क दर्ता गर्ने कुरो, गरे भैगो नि । लाठीलिएर बसेका छैनौं ।’ देश हित विपरित काम भए ज्यानको बलिदान दिन समेत एमाले तयार रहेको उनले बताए ।‘विहीबार प्रधानमन्त्री सँग कुरा भयो’ ओलीले भने, ‘न चर्काे आवाज, न कडा भाषा, सौहार्दपूर्ण कुरा भो, आ–आफनै एजेण्डामा छलफल मात्रै भयो । संविधान संशोधनको विषयमा सरकारसँग कुनै एजेण्डा छैन ।’ उनले पुरक बजेट ल्याउन प्रधानमन्त्रीले कुरा गरेको भन्दै पुरक बजेट आवश्यक नरहेको बताए । नयाँ संविधानले पुरक बजेटको नाममा जथाभावी गर्न नदिने भन्दै उनले सरकारले विवाद निकालेर देशलाई फसाउने काममा उद्धत रहेको बताए ।संशोधन गरेर प्रदेश नम्बर ५ लाई विभाजन गर्ने काम न्यायसंगत नहुने ओलीको भनाइ छ । ‘कसैको स्वार्थको लागि प्रदेश नम्बर ५ र ४ को सीमा फेरबदल हुन सक्दैन’ – उनले भने ‘विवादनभएको ठाउँमा अनावश्यक विवाद निकाल्ने काम ठीक होइन ।’ पहाड, तराई छुटाउने कुरामा ठुलै रहस्य भएको बताए । तर, के रहस्य हो भन्ने प्रश्नमा उनले सबै तपाईंहरुलाई नै थाहा छ भनेर टारे ।मधेस केन्द्रित दलहरुतर्फ इंगित गर्दै ओलीले मधेसीको माग न्यायसंगत नभएको बताए । ‘म पनि मधेसी नै हुँ, पहाडबाट चुनाव उठेको छैन । मधेसबाटै जितेको छु ।’ साथमै रहेका कांग्रेससांसद धनराज गुरुङलाई देखाउँदै ओलीले भने– ‘उहाँ हो पहाडबाट जित्नुभाको ।’ कसैको स्वार्थको लागि जनताको भावनाविपरीत काम गर्न एमालेले नदिने उनले बताए ।

Post Comment