१४,मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन प्रयासको प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
सरकारले मंगलबार साँझ चारबुँदे संविधान संशोधन प्रस्ताव पारित गरी संसद सचिवालयमा दर्ता गराएलगत्तै एमाले वरिष्ठ नेता झलनाथ खनालले एमालेको सहमति बिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।‘संविधान संशोधनमा सत्तारुढ दलले पुनर्विचार गर्नुपर्छ,’ उनले भने– ‘एमालेसँग सहमति गरी अघि बढ्नुको विकल्प छैन् ।’ खनालले एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताए ।
यस्तै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पहाड तराई अलग गराउने संशोधन प्रस्तावको सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिए । ‘संविधान संशोधनप्रस्तावमा कांग्रेस र माओवादीले मनोमानि गरे । यसमा मधेसवादी दलकै समर्थन छैन्,’ उनले भने– ‘तराईबाट पहाडी जिल्लालाई अलग्याउने गरी आएको प्रस्तावविरुद्ध एमालेले सदन र सडकबाट प्रतिवाद गर्छ ।’
आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले नागरिकता, प्रादेशिक सीमांकन, समानुपातिक प्रतिनिधित्वलगायत बुँदामा संशोधन गर्न लागेको छ ।