२२,मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रोक्न खोज्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कैलालीका अध्यक्षसहित ७० जनाभन्दा बढी नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली सदरमुकाम धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री आउनैलाग्दा उनलाई रोक्न सडकमा प्रदर्शनमा उत्रिएका बेला एमाले नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एमाले कैलाली अध्यक्ष दीर्घ सोडारीसहित सचिव रणबहादुर चन्द, नेता यज्ञराज बास्तोला युवा संघ नेपालका केन्द्रिय सदस्य मदन रेग्मी, अनेरास्ववियुका कैलाली अध्यक्ष चुडामणी भट्ट लगायत ७० जना भन्दा बढीनेता कार्यकर्ता रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।धनगढी बन्द आह्वान गर्दै महोत्सव स्थल बाहिर टायर बाल्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । एमालेले बुधबार धनगढी बन्दको आह्वानगरेको छ ।एमालेको बन्दका बीच प्रधानमन्त्री आउने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
उता बन्दका बीच प्रधानमन्त्री दाङ आएपछिस्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । ठूलो संख्यामा सडकभरी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
कार्यक्रम स्थलमा प्रहरी, सशस्त्रसँगै नेपाली सेनालाई पनि परिचालन गरिएको छ । ‘पुरै संकटकालमा चेक गरेजस्तै कार्यस्थलमा चेकिंग भयो,’ कार्यक्रममा उपस्थित राजु चौधरीले भने ।सुरक्षाका लागि कपिलवस्तुबाट पनि प्रहरी मगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
‘केन्द्रको निर्देशन अनुसार जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ,’ दाङका एसपी धिरजप्रताप सिंहले भने- ‘प्रधानमन्त्रीको सुरक्षामा विशेष टोली खटाइएको छ ।’