भारतीय राजदुतलाई फिर्ता नबोलाए निषेध गर्ने युवा संघको चेतावनी

समाचार

२४,मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालले भारतीय राजदूतलाई निषेध गर्ने घोषणा गरेको छ ।

शुक्रबार केन्द्रीय कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष राजीव पहारीले नेपालको आन्तरिक मामिलामा पटक पटक हस्तक्षेप गर्ने भारतीय राजदूतलाई सरकारले तत्काल फिर्ता नपठाए निषेध गर्ने बताए ।‘कुटनीतिक मर्यार्दाविपरित नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतीय राजदूत रञ्जीत रेलाई भारत सरकारले तुरुन्त फिर्ता बोलाउनुपर्छ ।

त्यसो भएन भने नेपाल सरकारले फिर्ता पठाउनुपर्छ । होइन् भने हामी सबै ठाउँमा निषेध गर्छाै,’ पहारीले भने– ‘हिजो कुटनीति मर्यादाविपरित काम गर्दा दीपकुमार उपाध्यायलाई पनि केपी ओली नेतृत्वकोसरकारले फिर्ता बोलाएकै हो ।

त्यसकारण अहिलेको परिस्थितीमा भारतीय राजदूत फिर्ता हुनुपर्छ । यदि यसो नगरी उल्टै हस्तक्षेपका गतिविधि गर्दैगए भने हामी चुप लागेर बस्दैनौं । हिजो मात्रै हामीले भारतीय दूतावास घेरेर एक घण्टा राजदूतलाई भित्रै निषेध गर्यौ । अब सबै ठाउँमा गर्नुपर्ने अवस्था आउनसक्छ ।’

अध्यक्ष पहारीले सरकारले भारतीय राजदूत फिर्ता नपठाए सबै ठाउँमा निषेध गरी देश निकाला गर्न सरकारलाई बाध्य पारिने चेतावनी पनि दिए ।‘नेपाल आफ्नो समाधान गर्न सक्षम छ । भारत वा इयु, युरोपियन राजदूतले सल्लाह दिनसक्छ । तर हस्तक्षेप गर्न पाइदैन्,’ उनले भने– ‘नेपालमा चासो राख्ने हो भने आफ्नो देशको नागरिता त्याग्नुस् । नेपालको संविधानअनुसार नागरिकता लिएर राजनीतिमा आउनुस् ।’
ज्ञानेन्द्रको दोस्रोरुप प्रचण्ड

पत्रकार सम्मेलनमा अध्यक्ष पहारीले अहिलेका प्रधानमन्त्री प्रचण्ड पूर्वराजा ज्ञानेन्द्र शाहको दोस्रो रुप भएको बताए ।‘देश संकटमा भएको बेला प्रचण्ड माला थाप्न व्यापारिक मेलामा सहभागी भइरहेका छन् ।

आफ्नो स्वागतमा र्याली आयोजना गर्न लगाएर पञ्चायतकालजस्तो पञ्च र्याली गरिरहेका छन् । त्यही र्यालीमा सहभागी भएर उनलाई स्वागत गर्न जाँदा विद्यार्थीको मृत्यु भइरहेको छ ।

त्यसमा उनी रमाइरहेका छन्,’ पहारीले भने- ‘यो ज्ञानेन्द्रको दोस्रो रुप हो । देश संकटमा हुँदा ज्ञानेन्द्रले पनि यस्तै गरेका थिए । जुन पतनको बाटो हो ।’प्रचण्ड पतनको बाटोमा हिडेको भन्दै पहारीले मर्ने बेलामा हरियो काक्रो भनेजस्तो नगर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

Post Comment