४,पुस । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अहिलेको सङ्घीय संरचनाअनुसार सङ्घीयता लागू हुन नसक्ने बताउनुभएको छ ।
युवा सङ्घ नेपाल प्राकृतिक स्रोतसाधन व्यवस्थापन विभागले आयोजना गरेको ‘सङ्घीयता, समृद्धि र प्राकृतिक स्रोत साधनको उपभोग’ विषयक विचार गोष्ठीमा उहाँले अहिलेको संरचनाले देशलाई द्वन्द्वतिर लैजाने भएकाले लागू नहुने बताउनुभएको हो ।
“छुटैृ राष्ट्र/राज्यको परिकल्पना गरेर हामीले सङ्घीयता बनाउँदैछौँ”– उहाँले भन्नुभयो, “त्यस्तो किसिमको सङ्घीयता लागू हँुदै हुन्न ।” उहाँले हाम्रो जस्तो देशको संरचनामासङ्घीयता र सारमा विकेन्द्रीकरण गरिदिएको भए राम्रो हुने उल्लेख गर्नुभयो ।उहाँले आफूहरुले सङ्घीयतालाई बेठीक नभने पनि अहिलेको सङ्घीयताको संरचनाले देशलाई भड्कालोतर्फ लगेर सङ्कटपूर्ण अवस्था खडा गर्ने बताउनुभयो ।
“सङ्घीयताले देशको द्वन्द्वलाई समाधानतर्फ लैजान्छ, तर हाम्रो देशमा सङ्घीयताले द्वन्द्व सिर्जना गरेको छ”– उहाँले थप्नुभयो, “सङ्घीयताको विषले द्वन्द्व जन्माएको छ । भविष्यमा के हुँदैछ थाहा छैन ।”
पूर्वगृहमन्त्री समेत रहनुभएका उपाध्यक्ष गौतमले द्वन्द्व रोक्नका लागि कोसिस भएपनि नरोकिने दाबी गर्नुभयो । उहाँले देशलाई द्वन्द्वको दिशामा लैजाने विचारधाराविरुद्ध लड्ने उल्लेख गर्दै अहिले संसद् र सडकबाट एमाले लडिरहेको जानकारी गराउनुभयो ।अहिले मधेसको समस्या नक्कली समस्या भएको भन्दै उहाँले बाहिरको निर्देशनअनुसार नक्कली समस्या जन्माएर समाजलाई द्वन्द्वतर्फ लैजान थालेको बताउनुभयो ।
उहाँले तराईमा मैथली, भोजपुरी र अवधि भाषालाई समाप्त पार्नका लागि भाषाबारे संशोधन गर्न थालिएको उल्लेख गर्नुभयो ।उपाध्यक्ष गौतमले तराईलाई एउटा राष्ट्र बनाउन र नेपालबाट टुक्र्याउनका लागि सीमाङ्कन हेरफेरको प्रस्ताव ल्याइएको टिप्पणी पनि गर्नुुभयो ।
उहाँले देशलाई आर्थिक, सामाजिक व्यवस्थापन गर्दै समृद्धि गर्न नसके देश बिखण्डनतिर जाने उल्लेख गर्दै एमालेअध्यक्ष केपी शर्मा ओली सरकारले देश र जनताका पक्षमा ल्याएका राम्रा र देशभक्तिपूर्ण कामलाई अहिलेको सरकारले उल्ट्याउने काम गरेको बताउनुभयो ।“अहिलेको सरकारले नेपाललाई विदेशीको पाउमा पुर्याउने काम गरेकोछ”– उहाँले भन्नुभयो, “तर एमालेले नेपाली काँग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चा र राप्रपाभित्रका मान्छे खोजेर देशलाई बचाउनेछ ।”
उहाँले भोलि संसद्मा एमालेसँग अहिलेको सरकारले भिडन्त गर्ने योजनाबनाएको आरोप समेत लगाउनुभयो ।