७,पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार जारी गरेको विज्ञप्तिले नेपालको राजनीति तातेको छ ।
शाहले देश विखण्डन गर्न खोजिएको र त्यसलाई जोगाउन अब जाग्नैपर्ने बेला आएको भन्दै सम्पूर्ण नेपाली जनतामा राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका लागि अपिल गरेका थिए ।
पूर्वराजा शाहको यो अपिललगत्तै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आत्तिदै बुधबार राति नै ज्ञानेन्द्रको प्रतिवाद र सतर्क रहनुपर्ने जवाफ फर्काए ।
धेरैले अब राजा फर्किनसक्ने अनुमान समेत गरे । किनकि यो विज्ञप्ति पूर्वराजा शाहले चीन भ्रमणबाट फर्किएपछि जारी गरेका थिए ।
पूर्वराजाको विज्ञप्तिले राजनीति तातिरहेका बेला बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा पनि ज्ञानेन्द्रको चर्चा भयो । पूर्वराजा शाहले राजनीतिक दल र जनआन्दोलनको उपलब्धीप्रति प्रश्न उठाउँदै राजनीतिक वक्तव्य जारी गरेको भन्दै क्याविनेटमा केही मन्त्रीहरु आत्तिएका थिए ।
यसको अग्रपंक्तिमा थिए उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि । उनले ज्ञानेन्द्रले हामीसँग निहुँ खोजेको भन्दै दरबार हत्याकाण्ड पुनः छानबिन गरिनुपर्ने कुरा उठाए ।
मन्त्री निधीले दरबार हत्याकाण्डको छानविन प्रतिवेदन त्यत्तिकै थन्किएको भन्दै अब त्यसलाई खोतल्नुपर्ने कुरा उठाएपछि केही मन्त्रीले अहिले संविधान कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने भन्दै निधिको कुरालाई रोकेका थिए ।
बैठकमा अध्यक्षता गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निधिको प्रस्तावमा समर्थन जनाउँदै पूर्वराजाको वक्तव्य आउनुलाई सामान्यरुपमा लिन नहुने बताएका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले बैठकमा ‘हामी अहिले संविधानको कार्यान्वयनमा फोकस हुनुपर्छ । परिवर्तनविरोधी तत्वलाई पराजित गरेर अगाडि बढ्नुपर्छ,’ भनेका थिए ।