८ पुस । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ ।
उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको कमान्ड अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सुरुवातमा सार्कमार्फत राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो ।
भारतले नेपालको राजनीतिक तहमा लबिङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौतानगर्न अनुरोध गरेको उच्च स्रोतको दाबी छ ।