८,पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन र निर्वाचन गर्नका लागि दलहरुबीच छिट्टै सहमति जुट्ने बताउनुभएको छ ।
महान्यायाधीवक्ताको कार्यालय नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालका सरकारी वकिलहरुको प्रथम सम्मेलन’ को उद्घाटन समारोहमा उहाँले भन्नुभयो– ‘संविधान संशोधन र निर्वाचनका विषयमा दलहरुबीच विवाद रबहस देखिए पनि त्यो लामो समयसम्म चल्दैन, त्यो अस्थायी हो, सरकारले छिट्टै सहमतिको वातावरण सिर्जना गर्छ ।’
प्रधानमन्त्री दाहालले दलहरु संविधान घोषणा गर्ने बेलामा मिलेजस्तै वादविवादको अन्त्य गर्नुपर्ने र दलहरुबीच असहमतिका विषय पनि संसद्मै छलफल गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संविधानको भावना र मर्मअनुसार १३ महिनाभित्र तीनै निकायको निर्वाचन गरेर जानुपर्ने भएकाले स्थानीय निकायको निर्वाचन वैशाखमा, प्रदेश र केन्द्रीय निर्वाचन मङ्सिरमा गर्न सकिने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले कानुनको पालना नागरिकले मात्र नभई राज्यले पनि गर्नुपर्ने र दण्डहीनताको अन्त्य, स्वतन्त्र न्यायपालिका, कानुनी शासन सुदृढीकरण गर्नका लागि सरकारी वकिल क्षमतावान हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।