विपक्षी ९ दलले भने:- खबरदार भारत !

समाचार

११,पुस । संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनमा रहेका विपक्षी ९ दलले भारतबाट भर्खरै आएको यूएनमा नेपाली सेनालाई आफ्नो सेना मातहत खटाउने प्रस्तावको भत्सर्ना गरेका छन् ।

आइतबार एमाले संसदीय दलको कार्यालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ९ दलले भारतको यो प्रस्तावलाई एक एक पाइला गरी देशलाई हड्प्ने नियत भनेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका प्रभावशाली नेता एंव सांसद प्रेम सुवालले भारतले नेपाली सेना आफू मातहत खटाउँछु भन्नु आपत्तिजनक रहेको बताए ।

‘अहिले भर्खरै भारतले संयुक्त राष्ट्रसंघीय मिसनमा जाने नेपाली सेनालाई आफ्नो नेतृत्वमा लैजाने भनेर नयाँ प्रस्ताव राखेको छ,’ उनले भने– ‘त्यसको हामी घोर भत्सर्ना गर्दछौं, विरोध गर्दछौं हामी सबै विपक्षी दल । यो नेपाल हड्प्ने षडयन्त्र हो ।’

भारतले एक एक पाइला गरेर देशलाई तराई–मधेसका नाममा टुक्राउने र अन्ततः सिक्किमजस्तै हड्प्ने नै नियत राखेको भन्दै उनले भने– ‘हामीले यो संविधान संशोधनलाई स्वीकार गर्न सक्दैनौं । यो फिर्ता नभएसम्म हाम्रो आन्दोलन अगाडि बढिरहन्छ ।’

अहिले आन्दोलनको सुरुवात मात्रै भएको भन्दै नेता सुवालले अगाडि भने– ‘यो संविधान संशोधन विधेयक फिर्ता नभएसम्म संसद पनि अगाडि बढ्दैन् । देशव्यापी आन्दोलन पनि अगाडि बढ्दैछ । यो आन्दोलनको सुरुवात हो ।’

Post Comment