७,माघ । संघीय गठबन्धन र नयाँ शक्तिबीच अल्पकालीन कार्यगत एकता गर्ने सहमति भएको छ । दुई पक्षबीच बिहीबार भएको छलफलमा कार्यगत एकता गरी संविधान संशोधनको परिमार्जनमा समानता खोज्ने सहमति भएको छ । गठबन्धन आबद्ध दल रामसपाका महामन्त्री केशव झाका अनुसार शुक्रबार गठबन्धन र नयाँ शक्तिका नेताबीच संविधान संशोधनका चारवटा विषयको परिमार्जनका लागि समान धारणा बनाउन बैठक बस्दै छ । यो कार्यगत एकताको प्रारम्भिक चरण भएको झाको भनाइ छ । केही राजनीतिक विषयमा अझै विमति रहेकाले सहकार्य दीर्घकालसम्म हुने नहुने प्रस्ट नभएकाले तत्कालका लागि संविधान संशोधनका बुँदामा ध्यान दिन कार्यगत एकता गर्ने सहमति भएको सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले जानकारी दिए ।
संघीय गठबन्धन र नयाँ शक्तिबीच दीर्घकालीन सहकार्यका लागि छलफल तीव्र भए पनि विश्वासको खाडल निकै देखिएको छ । विगतदेखि नै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मधेसी गठबन्धनलाई बेवास्ता गरेकाले विश्वास गर्ने आधार नभएको संघीय गठबन्धनका नेताहरूले आरोप लगाएका छन् । बाबुरामसँग संघीय समाजवादी फोरम बढी नजिक गत २ माघमा बसेको बैठकमा झन्डै तीन घन्टा छलफल भएको थियो । केही महिनायता नयाँ शक्ति र संघीय गठबन्धनका नेताहरूले सार्वजनिक कार्यक्रममा साझा वक्ता तय गर्न थालेका छन् । गत १ माघमा गबठन्धनको कार्यक्रममा प्रमुख वक्ता भट्टराई थिए । गत २६ पुसमा गठबन्धन आबद्ध संघीय समाजवादी फोरमको बुद्धिजीवी संगठनको कार्यक्रममा पनि उनी नै प्रमुख वक्ता बनाइएका थिए ।
आजको नयँ पत्रीकामा खबर छ ।