एकहजार केन्द्रिय कमाण्डमा मधेस ओर्लियो एमाले , ३५ स्थानमा सभा

एकहजार केन्द्रिय कमाण्डमा मधेस ओर्लियो एमाले , ३५ स्थानमा सभा
समाचार

९,माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ काँग्रेस, माओबादी केन्द्र र मधेस केन्द्रित दलहरुलाई चुनौति दिँदै मधेसमा २५ लाख मानिस परिचालन गर्ने तयारी गरेको छ ।

सत्ता पक्ष र मधेसबादी दलहरुले एमालेमुक्त देश बनाउनुपर्छ भनेर उद्घोष गरिरहेका बेला एमालले जनपरिचालनको तयारी गरेको हो । सरकारले पनि मधेसी मोर्चालाई समेत मनाएर संविधान संसोधन संशोधन गर्नुका साथै स्थानीय चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।

मधेस केन्द्रित दलहरुले संविधान संशोधनको विपक्षमा रहेको पार्टी एमाललेको विरुद्धमा मधेसमा आवाज उठिरहेको भनिरहेका बेला एमालले संगठन सृदृढिकरण गर्नकै लागि यो अभियान थालनी गर्न लागेको हो । ‘राष्ट्रिय एकता, सामाजिक सद्भावलाई सुदृढ गर्ने, संविधान कार्यान्वयनका लागि जनदबाव सिर्जना गर्ने र तराई मधेसमा एमालेको संगठन थप सुदृढ बनाउने यो अभियानको प्रमुख उदेश्य रहेको छ,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने ।

यता पार्टीले जनपरिचालनका लागि आन्तरिक तयारी गरिरहेको छ । महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालयले फागुन २१ देखि अभियान सुरु गर्ने गरि कार्ययोजना बनाइरहेको छ ।

त्यसका लागि केन्द्रीय कमाण्ड नै मधेस झरेर सबै भ्रम चिर्ने वृहत तयारी भइरहेको छ । एमालेको लोकतान्त्रिक मधेशी संगठनका अध्यक्ष रघुवीर महासेठले एमाले मुक्त मधेसको नारा लगाउने कांग्रेस, माओवादी र मधेसी मोर्चालाई एक्लै एमालेले तराई मधेशमा टक्कर दिने गरी योजना बनाइएको दाबी गरे ।

यो अभियान अन्तर्गत एमालेले फागुन २१ माघमा झापाको काँकडभिट्टाबाट सुरु गर्ने मेची महाकाली तराई मधेस केन्द्रित अभियानमा २५ लाख मान्छे परिचालित हुने लक्ष्य राखेको छ । जसमा विभिन्न ३५ स्थानमा वृहत सभा आयोजना गरिने छन् ।

अभियानका लागि केन्द्रबाट एक हजार जनाको जम्बो टोली अभियानको अन्तसम्म पूर्णकालीन रुपमा खटिनेछ । यो १ हजारको टोलीमा पार्टी अध्यक्ष केपी ओलीसहित केन्द्रीय नेताहरु, स्वयंसेवक, सांस्कृतिककर्मी, स्वास्थ्यकर्मीहरु हुनेछन् ।

पहाड र हिमालका जिल्लाहरुमा ४ महिने अभियान गरेको एमाल अहिले तराई मधेसमा केन्द्रित हुन थालेको हो ।

Post Comment