“विश्वमै उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको भारतबाट नेपालले सहयोग पाउने आशा छ ।”

समाचार

नेपाल–भारत सम्बन्ध दुवै देशलाई लाभ हुने गरी अघि बढ्नुपर्ने

2017-01-26 20:46

काठमाडौँ, १३ माघ । नेपाल–भारत सम्बन्ध दुवै देशलाई लाभ हुने गरी अघि बढ्नुपर्नेमा विभिन्न राजनीतिक दलका नेताले जोड दिएका छन् ।

भारतको ६८ औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारतमैत्री समाजले यहाँ आज आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दुई देशबीच विकास सहयोग कार्यान्वयन अघि बढाउने समझदारी बनेको बताउनुभयो ।

“रिजभ्र्वायर आयोजनासम्बन्धी छाता सम्झौता गरी ठूला जलविद्युत् आयोजना सञ्चालन गर्नसके दुवै देशलाई फाइदा हुन्छ,” उहाँले भन्नुभयो – “विश्वमै उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको भारतबाट नेपालले सहयोग पाउने आशा छ ।”

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले पूर्व–पश्चिम हुलाकी राजमार्ग बन्न नसक्दा तराई क्षेत्रको विकास हुन नसकेको गुनासो गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली सन्धी कार्यान्वयन भई पञ्चेश्वर जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन छिटो तयार हुनुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री डा रामशरण महत, राप्रपाका नेता पशुपति शम्शेर जबरा, राप्रापका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र महेन्द्र यादव, नेपालका लागि भारतीय राजदूत रणजीत राय, समाजका अध्यक्ष प्रेम लस्करी र उपाध्यक्ष लोकविक्रम थापा लगायतले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Post Comment