चुनाव अघि संसोधन पारित गर्नपर्ने मोर्चाको अडान पछि वार्ता भांडियो

समाचार

काठमाण्डौं । सत्तासिन दल र मधेसी मोर्चाको बैठक विना निस्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भरखरै सकिएको बैठकमा स्थानिय निकायको चुनाव, संविधान संसोधन र राज्यपुनर्संरचनाा आयोगको प्रतिवेदनमा छलफल भएपनि सहमति कुनैपनि विषयमा हुन सकेन । मधेसी मोर्चाले चुनाव अघि संविधान संसोधन प्रस्ताव पारित गर्नपर्ने अडान लिएपछि बैठकले ठोस सहमति गर्न नसकेको नेताहरुले जनाएका छन् । मोर्चाले चुनावका विषयमा पुराने अडान कायम राखेको बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले स्थानिय निकायको चुनावमा जाने विषयमा मधेसी मोर्चा सहमत भएपनि संसोधनको टुङ्गो पहिला खोजेकाले प्रतिपक्ष दलसँग समेत छलफल गरेर दुईदिनमा सहमति खोज्ने सहमति भएको बताए । ‘चुनावका विषयमा मधेसी मोर्चापनि सकारात्मक छ ’ श्रेष्ठले भने, ‘तर उसको यसअघिकै अडान कायम रहेकाले कसरी टुङ्गो लगाउने भन्नेमा निस्कर्ष आउन सकेन ।

पर्सीसम्म फेरि अर्को बैठक गर्ने सहमति भएको पनि उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नभएसम्म चुनावमा नजाने अडान राख्दै आएको मधेसी मोर्चालाई फकाउन बिहान बैठक बोलाएका थिए । मोर्चा सहमत नहुँदा प्रधानमन्त्रीले चुनाव मिति घोषणा गर्न सकिरहेका छैनने । बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाको सहमति विना चुसनावको घोषणा नगर्ने प्रतिवद्धता जनाएका छन् । ‘म अहिलेको गठनबन्धन कायम राख्दै अगाडी बढ्ने पक्षमा छु ’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले भने, ‘तपाईको सहमतिका आधारमा नै चुनाव हुन्छ त्यसकै आधारमा म चुनावको मिति घोषणा गर्छु तर वाताबरण सहज बनमाउन तपाईहरुले पनि सहयोग गर्नु पर्यो । ’

बालुवाटार सम्बद्ध स्रोतका अनुसार प्रधानमन्त्री संविधान संशोधन प्रस्तावलाई अघि बढाएर चुनाव मिति घोषणा गर्ने तयारीमा छन् । मोर्चा चुनावमा जान तयार भए संविधान संशोधन विधेयकमा पुरक संशोधन प्रस्ताव ल्याउन पनि तयार रहेको विषयमा पनि प्रधानमन्त्रीले प्रस्ताव गरेका छन् । पूरक संशोधन प्रस्तावमा मोर्चा पनि सकारात्मक छ।

मोर्चाले संशोधन विधेयक परिमार्जनसहित पास हुनुपर्ने सत राख्दै आएको छ । त्यस्तै मोर्चाले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन खारेज गर्न पनि मोर्चाले माग गरेको छ । प्रधानमन्त्रीले मोर्चाको भावना अनुसार नै तत्काल प्रतिवेदन अघि नबढेको विश्वस्त पारेका थिए ।

Post Comment