भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) का प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले भारतले नेपाललाई कहिल्यैपनि हस्तक्षेप नगरेको दाबी गरेका छन् ।
नयाँदिल्लीमा रहेका नेपाली विकासविद् एवम् युवा प्रर्वद्धक दिपेन्द्र कँडेलसँगको संक्षिप्त कुराकानीमा नेता जोलीले यस्तो बताएका हुन् । उनले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप नगरेको जिकिर गरे । उनले भने, ‘नेपालप्रति भारतको सदैव सकारात्मक सोच छ, त्यसैले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गर्दैन, र गरेको पनि छैन ।’
उनले नेपालका शीर्ष नेताहरुले नै भारत भ्रमणमा आउँदा नेपालको आन्तरिक समस्याहरु सुनाउने र समाधानको लागि अनुरोध गर्ने गरेको उल्लेख गर्दै भने, ‘नेपालका नेताहरु नै यहाँ आएर समस्याको बारेमा हामीसँग भन्नुहुन्छ, उहाँहरु हामीहरुलाई नै अभिभावक मान्नुहुन्छ, जुन कुरा कुटनीतिक परिपाटी भन्दा पनि बाहिरको कुरा हो, नेपाली नेताहरुको यस्तो खाले बानी व्यवहारले कहिलेकाहीँ भारतकोपनि नेपालको राजनीतिमा केही स्वार्थ छ कि जस्तो झल्किन्छ, तर यो नेपालका नेताहरुको गल्ती हो ।’
नेता जोलीले नेपालमा राजनीतिक स्थायित्व भएर मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढोस् भन्ने आफूहरुको चाहना रहेको बताए । उनले नेपालमा शान्ति, स्थायित्व र समृद्धिको लागि जस्तोसुकै सहयोग गर्न पनि भारत रहेको स्पष्ट पारे ।
संविधान संशोधनको माग गर्दै आन्दोलन गर्दै आएको मधेशी मोर्चालाई भारतको प्रत्यक्ष सहयोग रहेको छ अरे नि भन्ने कँडेलको प्रश्नमा नेता जोलीले भने, “यो गलत र वाईहात कुरा हो, यो कसैले आफू राम्रो छु भनेर देखाउन लगाएको आरोप मात्रै हो, मधेशी जनता नेपालकै जनता हुन् नि, तीनीहरुको समस्याको समाधान कसरी गर्ने वा नगर्ने भन्ने कुरा नेपालकै नेताहरुको हातमा छ्, यसमा हामीले भन्नु केही पनि छैन् ।”
जोलीले नेपालमा अस्थिरता भए त्यसको असर भारतमा पनि पर्ने भएकोले नेपाल सँधै शान्त, स्थायित्व र आर्थिक समृद्धिको पथमा हिँड्नुपर्ने भारतको चाहना रहेको उल्लेख गर्दै भने, “नेपाल र भारतवीच खुल्ला सिमाना छ, हामीवीच धार्मिक, साँस्कृतिक, सामाजिक सम्बन्ध प्रगाढ छ, यो सम्बन्धलाई कसैले चाहेरपनि विगार्न सक्दैन् ।”
त्यस्तै उनले मधेशी मोर्चाले उठान् गरेका मुद्दालाई भारतसँग जोडेर नेपालका कुनै पार्टीले हिँड्नु भनेको त्यो नेपाली जनतालाई आफ्नो पार्टी बढि राष्ट्रवादी छ भनेर देखाउने र भ्रम छर्नु बाहेक अरु केही नभएको समेत टिप्पणी गरे।