ओलिले दिए प्रचण्डलाई मुख सम्हालेर बोल्न चेतावनी

समाचार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएका छन्।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आगामी फागुन २१ बाट सुरु हुने पार्टीको मेची–महाकाली अभियानवारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले देशको माया गर्नेलाई खोजी–खोजी जाइलाग्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएको भन्दै त्यसप्रति कडा आपत्ति जनाएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलेजस्तो आफूले भिड्ने निम्तो स्वीकार गर्न अप्ठ्यारो परेको व्यंग्य गरे। उनले अघि भने,‘‘प्रधानमन्त्रीजस्तो मान्छे हामीले लुटेर खाएको देखिसहेका छैनन, राष्ट्रवादका नाममा हावा चलाइँदैछ अब नसुत, जाइलाग भनेर आव्हान गर्दै हिंड्नु भएको छ’ के गर्नु मैले आउनुस् न त भिडौं भन्न नमिल्ने, प्रधानमन्त्री भएको मान्छे सम्हालिएर बोलेको भए राम्रो हुन्थ्यो ।’

उनले मधेशी मोर्चालाई ईंगित गर्दै सत्ता समर्थक दलहरुले तराईमा जारी गरेको उर्दीलाई फासिवादीको संज्ञा दिए। ‘चुनाव घोषणा नगर्न एउटा कुटेजस्तो गर्छ, अर्काे रोएजस्तो गर्छ’ ओलीले भने, ‘आज बिाहन एउटा रेडियोमा अन्तरवार्ता नै सुनेँ, लाजै नमानी भन्छन् अव विपक्षीलाई जनतामा जान दिंदैनौं, एमालेलाई विदेशी शक्ति लगाइदिन्छौं ।’

उनले आफ्नो पार्टी राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमसत्ता र स्वाभीमानको पक्षमा दृढ रहेको बताए। उनले अघि थपे,‘कुनै देशसँग कटुता बढाउने कुरा छैन, कसैसँग सम्बन्ध बिगार्ने कुरा पनि हामीले गरेका छैनौं, छिमेकी देशहरुसँग पारस्परिक हित र अहस्तक्षेपको सम्बन्धको नीति लिंदा खोक्रो राष्ट्रवाद, महेन्द्रीइ राष्ट्रवाद भन्दै भ्रम फिजाइएको छ ।’

Post Comment