काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहकै चुनाव हुने दाबी गरेका छन्। उनले अघि भने,‘चुनाव हुन्छ कि हुँदैन भनेर कसैले शंका नगर्नुहोस्, समयमै सबै तहको निर्वाचन हुन्छ।’
मंगलबार निर्वाचन आयोगले विद्युतिय मतदानका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित संसदमा रहेका दलहरुसँग छलफल गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सबै दलहरुले चुनावमा भाग लिनेगरि चुनाव हुने दाबी गरे। उनले भने,‘हामीले निर्वाचन आयोगलाई पत्र पनि लेखिसकेका छौं, ’
आयोगको कार्यालयमा भएको छलफलमा विद्युतिय मतदानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल केन्द्रीत थियो। उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले आजको युगमा प्रविधिमा नेपाल र नेपालीहरुपनि निकै अगाडि रहेको बताए।
प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचन सम्बन्धि ऐन पारित भइसकेका छन् । सरकार निर्वाचनको तयारीमा लागिरहेको छ । अब निर्वाचनमा कुनै शंका नगरौं, निर्वाचन हुन्छ, निर्वाचन गर्नैपर्छ ।’
प्रधानमन्त्रीले अब नेपाली जनता प्रविधि प्रयोगमा सक्षम भइसकेको बताउँदै भने, ‘यसपालि म देशका विभिन्न भागमा पुगें, दुर्गम ठाउँका जनताले पनि सेल्फोन बोक्न थालिसकेका छन् । अब नेपालीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न जान्दैनन् कि भन्ने सोच्नु गलत हो । हामीले निर्वाचन शिक्षालाई प्रभावकारी त बनाउनैपर्छ । तर, सेल्फोन बोक्ने नेपालीले विद्युतीय मेसिनलाई हाउगुजी ठान्दैनन् ।’
उनले अघि भने,‘हुम्लाको हिल्सा नाकामा म पुग्दा त्यहाँपनि बुढाबुढीहरु सेल्फी खिच्न आएका थिए, नेपालमा स्मार्टफोन प्रयोग गर्ने धेरै छन् विद्युतीय मतदान प्रयोगमा जानुको विकल्प छैन्।’
कार्यक्रममा प्रमूख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्युतीय भोटिङ मेसिनले निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, छिटो र कम खर्चिलो हुने भन्दै आयोगले सरकार र व्यवस्थापिका–संसदले दिने निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोग तयार रहेको जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पनि निर्वाचन हुनेमा कसैले पनि शंका नगर्न आग्रह गरेका थिए। उनले भने,‘आयोग निर्वाचनको तयारीमा जुटेको छ, हामी जसरीपनि निर्वाचन गराएरै छोड्छौं।’
कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि लगायतले विद्युतीय भोटिङ मेसिनका प्राविधिक पक्षबारे जानकारी लिनुभएको थियो भने निर्वाचन आयोगका तर्फबाट विद्युतीय भोटिङ मेसिनका विशेषताबारे जानकारी गराइएको थियो ।
एमाले नेता माधव नेपाल, संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईलगायतलाई नमुना मतदान समेत गर्न लगाइएको थियो
आयोगले आगामी निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने तयारी गरेको छ भने सोहि मेसिन प्रयोग गर्ने या नगर्ने भन्ने राय लिन छलफल बोलाएको हो। यसअघि निर्वाचनलाई छिटो र छरितो बनाउन चाहिने आवश्यक प्रविधिको व्यवस्थापनको लागि सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले बताएका थिए।
यसैबीच निर्वाचन आयोगले स्थानीय निर्वाचनको लागि तयारी थालिसकेको भएपनि सरकारले हालसम्म मिति भने तय गरिसकेको छैन।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजि श्रेष्ठले यो मेसिनलाई प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर छलफल गर्नुपर्ने बताए। उनले मेसिन अहिले किन्न सकिन्छ कि सकिँदैन भनेर चर्चा गर्नुभन्दापनि यो मेसिन कत्तिको उपयोगी हुने कि नहुनेबारे सोच्नुपर्ने बताए। उनले अघि भने,‘धाँधली हुन्छ कि हुँदैन भन्नेबारेमा पो सोच्नुपर्छ।