चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा कुनै पनि हालतमा सरकारबाट बाहिर नजाने दाबी गरेका छन्।
उनले अघि भने,‘अरु दललाईसमेत सरकारमा सहभागी गराउने प्रयास भइरहेकाले सरकार झन् बलियो हुन्छ, राप्रपा सरकारबाट जाँदैन्।’
उनले मधेसी मोर्चासँग समझदारी गरेपछि मात्रै स्थानीय तहको निर्वाचनको मिति तोकिने बताएका छन्।
प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले जेठभित्रै निर्वाचन गर्ने गरी तयारी भइरहेको र मधेसी मोर्चासँग पनि समझदारीको प्रयास जारी रहेको बताएका हुन्।
उनले मधेसी मोर्चा र एमालेलाई सहमतिमा ल्याएरै निर्वाचन गर्नुपर्ने बाध्यता रहेकाले मिति नतोकिएको स्पष्ट पारे। निर्वाचन हुने विषयमा कुनै शंका नगर्न उनले पुनः आग्रह गरे।
प्रधानमन्त्री दाहालले निर्वाचन गर्न निर्वाचन आयोगलेसमेत काम शुरु गरिसकेको जानकारी दिए। निर्वाचनको माहोल बनाउन उनले प्रतिपक्षी दलसहित सबैलाई आह्वान गरे।