‘वान बेल्ट वान रोड’ प्रस्तावमा नेपाल सरकार ‘मौन’ भएपछि चीन रिसायो

समाचार

काठमाण्डौं । चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रस्तावमा नेपाल सरकार ‘मौन’ भएपछि चीनले त्यसप्रति असन्तुष्टि जनाएको छ ।

सरकारी स्रोतका अनुसार चीनले राजनीतिक तथा कुटनीतिक तहमा भएका औपचारिक-अनौपचारिक द्विपक्षीय बैठकमा ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अवधारणामा नेपालको सहभागिताबारे सरकारको ठोस धारणा पटक-पटक सोधेको छ।

वर्तमान सरकार गठन हुन ठिकअघि चीनले उक्त समझदारी पत्रमा हस्ताक्षरका लागि प्रस्ताव पठाएको थियो। अहिले उक्त समझदारी पत्रको मस्यौदा परराष्ट्र मन्त्रालयमा थन्किएको छ। नेपाल सरकारले उक्त मस्यौदाप्रति ठोस जवाफ चिनियाँ पक्षलाई दिन सकेको छैन । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रधानमन्त्री कार्यालयले उक्त समझदारी पत्रबारे परराष्ट्र मन्त्रालयसँग सोधेको प्रधानमन्त्री कार्यालय स्रोतले अन्नपूर्णलाई जानकारी दियो। ‘परराष्ट्रले प्रधानमन्त्री कार्यालयलाई त्यसबारे प्रस्ट जवाफ अहिलेसम्म दिएको छैन’, जानकार अर्का सरकारी अधिकारीले भने ।

परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले ‘वान बेल्ट वान रोड’ सम्बन्धी चीनले पठाएको समझदारीपत्रबारे अध्ययन भइरहेको बताए। ‘हामी आफ्नो तर्फबाट काम गरिरहेका छौँ। अहिले नै यसबारे केही भनिहाल्ने अवस्था छैन’, उनले भने ।

चिनियाँ शीर्ष नेता लिउ छिपाओले उनको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री दाहाललगायत नेतृत्वसँग ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको सहभागिताबारे चासो राखेका थिए।

Post Comment