काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता कार्यान्वयन नै सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका छन् । ६७ औं प्रजातन्त्र दिवसका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गरिएको विशेष कार्यक्रममा उनले संविधानले स्थापित गरेका सबै उपलब्धी महत्वपूर्ण भएपनि कार्यान्वयनको दृष्टिले संघीयता नै सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका हुन्।
‘संविधानले स्थापित गरेका सबै उपलब्धी महत्वपूर्ण छन्। तर, कार्यान्वयनको हिसाबले संघीयता नै सबैभन्दा चुनौतीपूर्ण छ भन्ने मेरो बुझाई रहेको छ। लामो समयसम्म एकात्मक र केन्द्रीकृत अवस्थाबाट गुज्रेको शासन व्यवस्थालाई सङ्घात्मक ढाँचामा ढाली सिंहदरबारमा रहेको अधिकार, स्रोत र साधनलाई संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तहमार्फत् जनताको घरदैलोसम्म र्पुयाई नागरिकलाई आफूसँग सम्बन्धित शासन प्रक्रियामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी हुने अवसरको सिर्जना गर्ने र तत्तत् तहबाट सेवा प्रवाहको प्रबन्ध गर्नु नयाँ व्यवस्थाको मूल उद्देश्य हो’ उनले आफ्नो लिखित संवोधनमा भनेका छन्।
एकात्मक र केन्द्रीकृत शासन व्यवस्थालाई सङ्घात्मक ढाँचामा ढाली अधिकार, स्रोत र साधनलाई संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तह मार्फत् जनता समक्ष र्पुयाउने मूल उद्देश्य रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि निर्वाचन आवश्यक भएकोमा जोड दिए।
नयाँ संविधान अनुसार निर्वाचनसँग सम्बन्धित राजनैतिक र कानूनी मुद्दाको लगभग टुंगो लागिसकेकाले निर्वाचनप्रति आशङ्का नगर्न पनि प्रधानमन्त्रीले आग्रह गरे। संविधान कार्यान्वयनका लागि चुनाव अनिवार्य रहेको र चुनावले मात्रै शान्ति प्रक्रिया तार्किक निष्कर्षमा र्पुयाई राजनैतिक संक्रमण अन्त्य गर्ने कुरामा सरकार गम्भीर र सचेत भएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।
सङ्घीयता कार्यान्वयनका लागि चुनाव मात्रै पनि पर्याप्त नहुने भन्दै उनले त्यसपछि बन्ने सरकारको दृष्टि र योजना महत्वपूर्ण हुने बताए। ’मेरो बुझाइमा सङ्घीयतको कार्यान्वयनका लागि चुनाव आवश्यक तत्व हो तर यो मात्र पर्याप्त हुदैन।
निर्वा्चित जनप्रतिनिधि आएपछिको सरकारको दूरदृष्टि र योजना के भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुन्छ’ उनले भने। प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र प्राप्तीका लागि सात सालदेखि अहिलेसम्म भएको घटना परिघटनाको संक्षिप्त दृष्टान्त दिदै ६७ औं प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र जनताको जीवन पद्दतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस भनि शुभेच्छा व्यक्त गरे।
संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्दिको दिशातर्फ उन्मुख गराउन राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी सर्वसाधरण सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि प्रधानामन्त्रीले आह्वान गरे। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश सुशीला कार्की, उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायत सहभागी थिए।