काठमाडौं। सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।
सोमबार राति बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले मधेसी मोर्चाको असहमतिका बाबजुद निर्वाचनको मिति तोकेको हो ।
खानेपानीमन्त्री प्रेम बहादुर शाहीका अनुसार निर्वाचनको आयोगको प्रस्तावमा वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
सरकारको निर्णयसँगै विसं २०५९ यता हुन नसकेको स्थानीय निर्वाचन सुनिश्चित भएको छ ।
निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले मुलुक निर्वाचनमा केन्द्रित भएको बताए । । प्रवक्ता कार्कीले भने– “मुलुक निर्वाचनमा गयो, सरकारले महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी छ ।”