काठमाडौं । १० फागुन–लामो अलमल र अन्तरद्वन्द्वपछि सरकारले बैशाख ३१ गतेका लागि स्थानीय तहको चुनाव मिति तोकेको छ । जेठ अन्तिम सातासम्म चुनाव मिति घोषणा गर्ने मनस्थितिमा रहे पनि बैशाख ३१ गते एकै चरणमा चुनाव सम्पन्न गरी जेठ २ गते सत्ता हस्तान्तरण गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको दवावपछि प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव घोषणा गरेका हुन् ।
नौ–नौ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौता गरी गठबन्धन बनाएका दाहाल–देउवाबीच चुनावको मितिलाई लिएर निकै गलफत्ती परेको थियो । दाहाल जेठमा चुनाव घोषणा गरेर बजेट आफ्नै सरकारले ल्याउने मनस्थितिमा थिए भने बजेट ल्याइसकेपछि सरकारको नेतृत्व हस्तान्तरण असम्भव हुने आशंकामा देउवाले बैशाखको अन्तिम साता एकै चरणमा चुनाव घोषणा गर्न दवाव दिएका थिए ।
आइतबार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भएको छलफलमा दाहालले बैशाख अन्तिम साताका लागि चुनाव घोषणा नगरे अहिले नै सत्ता छोड्न दाहाललाई अीलटमेटम दिएका थिए । देउवाले बैशाख भित्रै एकै चरणमा चुनाव गर्न र जेठ २ गते सत्ता हस्तान्तरण गरी नयाँ सरकारलाई बजेट ल्याउने बाटो खुला गर्न दाहाललाई टाइमलाइन दिएका छन् ।
दाहाललाई अल्टिमेटम दिएपछि सभापति देउवाले पार्टी पदाधिकारी र सरकारमा सहभागि नेताहरुको बैठक आयोजना गरे । बैशाख ३१ गतेलाई चुनाव मिति घोषणा गर्ने र जेठ २ गते सरकारको नेतृत्व हस्तान्तरण गर्न आफूले दाहाललाई टाइमलाईन दिएको देउवाले सो बैठकमा ब्रिफिङ गरेका थिए । उनका अनुसार जेठ २ गते प्रधानमन्त्रीले राजीनामा दिने टायमलाइन दिइएको कुरा अहिले सार्वजनिक भए इमान्दारिता नदेखिने भएकाले त्यसलाई गोप्य राखिएको देउवाले वताए ।
‘स्थानीय तहको चुनाव माओवादी नेतृत्वमा र प्रदेश तथा संघीय संसदको चुनाव कांग्रेस नेतृत्वमा गर्ने सहमति पहिलेकै हो’ बैठकलाई उद्धृत गर्दै कांग्रेस नेताले भने, ‘पहिलेको सहमति कार्यान्वयन गर्न पनि बैशाखमै चुनाव सकिसक्नु पर्ने हुन्छ । जेठ २ गतेसम्म सत्ता हस्तान्तरण गरी अन्य दुई निकायका चुनाव थालीहाल्नु पर्ने छ ।’ स्थानीय तहको चुनाव गरिसकेपछि प्रधानमन्त्री दाहालले सत्ता हस्तान्तरण गर्नेमा कांग्रेसका केही नेताले भने आशंका गरेका थिए ।
तर, सभापति देउवाले भने आफूले बैशाख मसान्त भित्र चुनाव गरिसक्न र जेठ २ गते भित्र सरकारको नेतृत्व हस्तान्तरणका लागि बाटो खोल्न दाहालसँग खुलेर कुरा राखेको वताएका थिए । गत असारमा पूर्ववर्ती केपी ओली नेतृत्वको सरकार विस्थापन गर्न तत्कालीन सत्ता सहयात्री माओवादी र प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी माघसम्म पालैपालो सरकारको नेतृत्व गर्ने सम्झौता गरी सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । चैत मसान्तमा दाहाल सरकारको नौ महिने अवधी पूरा हुन्छ । त्यसैले स्थानीय चुनाव सकेर जेठ २ गतेसम्म प्रधानमन्त्री दाहालले राजीनामा दिने र जेठ १५ गते नयाँ बजेट देउवाको नेतृत्वमा बन्ने सरकारले ल्याउने भन्दै दाहाललाई बैशाख ३१ गते नै चुनाव मिति तोक्न लगाइएको हो ।