काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर स्थानीय तह निर्वाचनमा जान मधेसी मोर्चाका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । निर्वाचन नभएमा संघीयता नै उल्टने र प्रतिगमनतिर मुलुक फर्कने जोखिम रहेको भन्दै सचेत रहन पनि उनले आग्रह गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
प्रधानमन्त्री प्रचण्डले संसद्मा दर्ता भएको संशोधनमाथि परेका १५ संशोधन प्रस्ताव टुंगो लगाउन सहमतिको पहल गरेका हुन् । प्रचण्डले आफू संविधान संशोधनमा प्रतिबद्ध रहेको, तर अहिले दुईतिहाइ पुर्याउन अप्ठ्यारो परेको बताएका छन् ।
‘प्रधानमन्त्रीले संशोधनमा दुईतिहाइ पुर्याउन अप्ठ्यारो परिरहेको जानकारी गराउनुभयो । उहाँले कांग्रेस, माओवादी, मधेसी दलहरू र राप्रपासम्मको राजनीतिक सहमति खोजी गरौँ भन्नुभयो,’ सोमबार प्रधानमन्त्रीसँग छलफलपछि सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘हामीले संविधान संशोधन पहिले गरौँ, अनि निर्वाचनबारे सोचौँला भन्यौँ ।’
प्रचण्डले सोमबार साँझ मधेसी मोर्चाका शीर्ष नेताहरूसँग संशोधनलगायतका विषयमा झन्डै साढे तीन घन्टा छलफल गरेका थिए । छलफलमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठ र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो सहभागी थिए ।