प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको शंकास्पद गतिविधिले झस्किएका छन् ।
सोमबार साँझ सप्तरीमा गोली नै चलाउनुपर्ने स्थिति उत्पन्न नहुँदै मन्त्री निधिले गोली हान्न ‘ठाडो आदेश’ दिएपछि प्रधानमन्त्री प्रचण्ड उनलाई सशंकित भएका हुन् । प्रधानमन्त्री प्रचण्डले मधेसका आन्दोलनकारीमाथि गोली नचलाउन गृहमन्त्रीलाई निर्देशन दिएको खुलासा भएको छ ।
सप्तरीमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट तीन जनाको मृत्यु भएपछि न्यायिक छानविनको माग गर्दै मंगलबार विहान बालुवाटार पुगेका प्रदेश नम्बर २ का कांग्रेस सांसदहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सप्तरी घटना दुःखद भएको र गोली नचलाउन आफूले आदेश दिएको भएपनि उल्लंघन भएको भन्दै कारबाही गर्ने बताएका हुन् ।
भेटमा सहभागी कांग्रेसका एक सांसदका अनुसार प्रधानमन्त्रीले आफूले सोमबार विहान प्रहरी प्रमुखलाई बोलाएर कुनै हालतमा गोली नचलाउन आदेश दिएको तर, साँझ त्यसविपरित घटना भएकोमा दुःख व्यक्त गर्दै भनेका थिए- ‘मेरो आदेश नमान्ने को हो ? म निलम्बन गरेर कारबाही गर्छु ।’
यसैबीच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रीय कार्यालय बैठकमा पनि गृहमन्त्री निधिको ‘शंकास्पद कदम’ बारे गम्भीर छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा गृहमन्त्री निधिलाई बर्खास्त गर्नुपर्ने माग उठेको थियो ।
घटना लगत्तै प्रधानमन्त्री प्रचण्डले ‘मैले रोक्दारोक्दै गोली हान्ने आदेश किन दिनुभो ?’ भनी सोधेका थिए । तर, गोली चलाउनुपर्ने स्थिति उत्पन्न नहुँदै मन्त्री निधिले गोली हान्न ‘ठाडो आदेश’ दिएको रहस्य खुलेपछि प्रधानमन्त्री स्तब्ध भएका थिए ।
तर, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कैलालीमा रहेका गृहमन्त्री निधि काठमाडौं आएपछि एकपटक प्रत्यक्ष भेटेर कुराकानी गर्ने अनि मात्रै थप निर्णयमा पुग्ने कुरा बैठकमा राखेका थिए ।
बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निर्देशन उल्ट्याउँदै सप्तरीमा गोली हान्न निर्देशन दिने गृहमन्त्री निधिको कडा आलोचना गरेका थिए ।