राजविराज झडपमा मारिएकाहरुको परिवारलाई जनही १० लाख दिने निर्णय

राजविराज झडपमा मारिएकाहरुको परिवारलाई जनही १० लाख  दिने निर्णय
समाचार

काठमाडौं । सरकारले सोमबार सप्तरीको राजविराज झडपमा मारिएकाहरुको परिवारलाई जनही १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै बैठकले उक्त घट्नामा  घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भएको छ ।

त्यस्तै घट्नाको सत्यतथ्य पत्ता लगाउन निश्पक्ष छानविन आयोग गठन गर्ने समेत निर्णय गरेको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधिश वा विशिष्ट कर्मचारीको नेतृत्वमा आयोग गठन गर्ने भएको हो। त्यस्तै आजको बैठकले गाउपालिका केन्द्र तोक्नको लागि एक करोड बजेट विनियोजन समेत गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले फागुन २३ गते सप्तरीमा भएको दुखद् घटनाको समीक्षा गरेको छ ।
बैठकले सप्तरी घटनामा परी मृत्यु हुने नेपालीहरुप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारजन र आफन्तहरुमा समवेदना प्रकट गरेको छ । बैठकले घटनामा परी घाइते हुने सम्पूर्ण नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बुधबारको बैठकले सप्तरी घटनामा परी मृत्यु हुनेका परिवारलाई दश लाख रुपैयाँ राहत र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय पनि गरेको छ । बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ ।

बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए।

Post Comment