भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानहरुले कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिएका छन् ।
कल्भर्ट निर्माणको विषयमा भइरहेको विवादकाबीच हतियारसहित एसएसबीका जवानहरुले बुधबार साँझ इन्दिरा गुरुङको घरसम्म आएर भाग्न भन्दै धम्क्याएका थिए । नेपाल प्रहरीकै सामुन्ने नेपाली सर्वसाधारणलाई एसएसबीले गाली ग्लोज र अपशब्द प्रयोग गरेको थियो । कल्भर्ट निर्माण उपभोक्ता समितिका सचिव चन्द्रमणि गैरेलाई तुच्छ शब्द प्रयोग गर्दै भारतमा भेटे कुट्ने धम्की समेत दिएका थिए ।
यसरी भारतीय एसएसबीले ज्यादति गरेपछि नेपालीहरु विहिबार विहानैदेखि प्रतिकारमा उत्रिएका हुन् । सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ ।
आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।
भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
लगत्तै एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको छ । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।
घटनास्थलमा पुगेका पत्रकार हरिशचन्द्र बागका अनुसार अहिले भारतीय र नेपाली पक्षबीच सीमा वारिपारी ढुंगामुढा भइरहेको र दुवैपक्षका सुरक्षा अघिकारीहरु समन्वयको प्रयास गरिरहेका छन् ।
ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोशन चन्द र सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्री घटनास्थलमा छन् ।