कञ्चनपुरमा भारतले ज्यादती गरिरहेको बेला नेपाल सरकारले भारतीय पक्षसँग झुकेर सहमति गरेको छ ।
पुनर्वास नगरपालिका–८ मा सोमबार २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न भन्दै नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति भएको हो ।
भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालबीच भएको छलफलमा सहमति भएको हो । तीनबुँदे सहमतिको एउटा बुँदामा एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरेर दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति दिने उल्लेख छ । जबकी भारतीय एसएसबीको गोली प्रहारबाट नै नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको हो । तर, नेपाली पक्षले सम्झौतामा किटानीपूर्वक त्यो विषय लेख्न र क्षतिपूर्तिका लागि अडान लिन सकेन । गल्ती देखिए मात्र कारबाही र क्षतिपूर्ति दिने भन्ने विषयले भारत माथि परेको छ ।
सहमतिका अन्य दुई बुँदामा विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोलीले रेखाङ्कन गरी सीमा विवाद हल गर्ने र स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने उल्लेख छ ।