मतपत्रको छपाइ शनिबारबाट सुरु

मतपत्रको छपाइ शनिबारबाट सुरु
समाचार

आगामी २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको शनिबारबाट परीक्षण छपाइ सुरु भएको छ । परीक्षणका रूपमा छापिएको मतपत्रको कागज सेतो र मसी नीलो छ ।

निर्वाचन आयोगले मतपत्रको छपाइ कार्य चैत ५ बाट सुरु हुने जनाएको भए पनि मतपत्रको डिजाइन गर्ने कार्यमा केही ढिलाइ हुँदा छपाइ कार्यमा पनि त्यसको प्रभाव परेको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भन्नुभयो, ‘‘आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहित आयुक्तहरू शनिबार जनक शिक्षा सामग्री केन्द्र जानुभई नमुना मतपत्र छपाइको अवलोकन गर्नुभयो । सम्भवतः आइतबार साँझबाट औपचारिक छपाइ सुरु हुनसक्छ ।’

आइतबार दिनभरिमा आयोगले आफ्नो प्रक्रियालाई पूरा गरेमा आइतबार साँझबाट निरन्तर रूपमा छपाइ सुुरु हुनेछ । मतपत्रको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ ।

आयोगले करिब एक करोड ४० लाख मतदाता हुने अनुमान गरी करिब एक करोड ६० लाख मतपत्र छपाइ गर्ने तयारी गरेको जानकारी दिएको छ ।

मतदाता नामावली प्रशोधनको कार्य भइरहेकाले औपचारिक मतदाताको सङ्ख्या आउन बाँकी छ ।

आयोगले छ आकार ९साइज०का र ७५ जिल्लाका लागि ७५ वटै प्रकारका मतपत्र छपाइ गर्ने तयारी गरेको जानकारी पनि प्रवक्ता शर्माले दिनुभयो ।

आयोगले निर्वाचन प्रयोजनका लागि केन्द्रमा तथा ७५ वटै जिल्लामा दलहरूको दर्ता गरी निर्वाचन व्यवस्थापनका लागि सहज बनाएको छ ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी ४७ र मनाङमा सबैभन्दा कम ६ वटा दल दर्ता भएका छन् । जिल्लामा दर्ता नभएका दलले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिन सक्नेछन् ।

त्यसैगरी हाल व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले मात्रै २०७० सालको संविधानसभा निर्वाचनका लिएको निर्वाचन चिह्न पाउनेछन् भने अन्य दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा निर्वाचन चिह्न पाउनेछन् । आयोगमा हाल ११३ वटा राजनीतिक दल दर्ता भएका छन् ।

Post Comment