उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले अर्का उपप्रधानमन्त्री कमल थापालाई आफू भन्दा अघिल्लो मर्यादामा राख्ने निर्णय नसच्याए सरकार छोड्ने चेतावनी प्रधानामन्त्रीसमक्ष दोहोर्याएका छन् ।
भारत भ्रमणबाट फर्केकै भोलिपल्ट आफूलाई दोस्रो वरियतामा नराखे राजीनामा दिने चेतावनी दिएका निधिले यस विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीसँग कुरा गर्न लगाएका थिए । बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेका निधिले प्रधानमन्त्री भन्दा पछिल्लो वरियतामा आफूलाई नराखे सरकार छोड्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन् । उनले सप्तरी घटनामा प्रधानमन्त्री दाहालले आफूलाई बदनाम गराएको भन्दै आपत्ती समेत जनाए ।
‘सरकारमा सहभागि भएका दल मध्ये कांग्रेस सबैभन्दा ठूलो र संसदको पनि ठूलो दल हो । गठबन्धनमा कांग्रेसबाट सरकारको नेतृत्व गर्नेलाई वरियतामा तल राखिए आपमानित महुसुस हुनेछ भन्ने बुझ्नु पर्छ’ निधिको भनाई उद्धृत गर्दै वालुवाटार स्रोतले भन्यो, ‘यसलाई सच्याउनु भएन भने सरकारमा रहने विषयमा सोच्नु पर्ने हुन्छ ।’
यसअघि मंगलवार साँझ कांग्रेस सभापति देउवाले पनि प्रधानमन्त्री दाहालसमक्ष निधिलाई कार्यवाह प्रधानमन्त्री बनाउन दवाव दिएका थिए । मन्त्रिपरिषदमा प्रधानमन्त्री भन्दा पछिल्लो मर्यादाक्रममा कमल थापालाई राखिएकोमा देउवाले आपत्ती जनाएका थिए । देउवाले प्रधानमन्त्री दाहाललाई सकेसम्म चीन भ्रमण नजान र गए पनि निधिलाई कार्यवाहक दिन दवाव दिएका थिए । ‘सकेसम्म चीन नजानुस्, जाने नै भए बिमलेन्द्रलाई कार्यवाहक दिएर जानुस्’ देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । प्रधानमन्त्री दाहाल बोआओ फोरममा भाग लिन बिहीबार चीन जाँदैछन् ।
निधिलाई दोस्रो वरियतामा राख्न देउवाले दवाव दिएपछि प्रधानमन्त्री दाहालले बुधवार बिहानै अर्का उपप्रधानमन्त्री कमल थापालाई वालुवाटार बोलाएर छलफल गरे । थापाले आफू पहिले पनि उपप्रधानमन्त्री भइसकेकाले पहिलो पटक उपप्रधानमन्त्री भएका निधि भन्दा मर्यादामा माथि हुनु पर्ने तर्क गरेका थिए ।
कमल थापा उपप्रधानमन्त्री नियुक्त भएपछि मन्त्रिपरिषदको बैठकमा उनी प्रधानमन्त्री पछिको वरियतामा रहंदै आएका छन् । निधि भारत भ्रमणमा रहेका बेला बसेको मन्त्रिपरिषद बैठकमा थापालाई प्रधानमन्त्रीपछिको आसनमा राखिएको थियो । थापालाई दोस्रो वरियतामा राखेपछि वाणिज्यमन्त्री रोमी गौचन थकालीले मन्त्रिपरिषद बैठक बहिस्कार गरेका थिए ।