लामो समयको अन्तरालपछि आज सत्तारुढ र प्रमुख प्रतिपक्षी दल तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाबीच स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र त्यसमा सबै पक्षलाई सहभागी गराउने विषयमा सकारात्मक छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको संयुक्त बैठकमा नेताहरुबीच हार्दिकतापूर्ण र सौहार्दपूर्ण कुराकानी भयो । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेकपा (एमाले) स्थायी समिति सदस्य सुवास नेम्वाङले पहिलो पटक सत्ता पक्ष, प्रतिपक्षसहित मोर्चासँग एकै ठाउँमा बसेर हार्दिकतापूर्वक छलफल भएको बताउनुभयो ।
छलफललाई निरन्तरता दिई निष्कर्षमा पुर्याउने समझदारी भएको र प्रधानमन्त्रीको चीन भ्रमणपछि थप छलफल गरी निचोड निकाल्ने समझदारी भएको उहाँले उल्लेख गर्नुभयो । “हामी यस्तो छलफललाई निष्कर्षमा पु¥याउन निरन्तर बैठक गर्छाैं, अब सकारात्मक ढङ्गले अघि बढ्छौं”, नेता नेम्वाङले भन्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले बैठक अत्यन्तै सकारात्मक भएको र सबै बसेर सिङ्गो राष्ट्रको साझा समस्यालाई मिलेर हल गर्नुपर्छ भन्नेबारे एक मत भएको बताउनुभयो । उहाँले छलफलाई निरन्तरता दिई प्रधानमन्त्री चीनबाट फर्केपछि राष्ट्रिय समझदारी खोज्ने गरी छलफल भएको जानकारी दिनुभयो ।
मोर्चाको घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समस्या कसरी समाधान गरी अगाडि बढ्ने भन्नेबारे खुलेर कुराकानी भएको बताउनुभयो । उहाँले संविधान सर्वस्वीकार्य बनाउन सङ्घीयताको सीमाङ्कन, प्रादेशिक अधिकारलगायत विषयलाई हल गरिनुपर्ने बताउनुभयो ।
बैठकमा सत्तारुढ नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्री पम्फा भुसाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला, उपप्रधानमन्त्री विमलेन्द्र निधि, कृष्णबहादुर महरा र कमल थापा, एमालेका उपाध्यक्ष वामदेव गौतम र नेता नेम्वाङ तथा मोर्चाका नेता यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतको सहभागिता थियो ।