उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिने भएका छन् ।
स्रोतका अनुसार आफूलाई वरियतामा दोस्रो नम्बरमा अर्थात वरिष्ठ उपप्रधानमन्त्री नबनाई अपमान गरेको भन्दै कांग्रेस नेता समेत रहेका निधि राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।
उसो त प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवासँग चिढिएका निधिले आफ्ना निकटस्थसँग प्रचण्ड सरकारको ९ महिने कार्यकाल (साउन २१ देखि चैत २१ सम्म) अर्थात आयु सकिएको बताउने गरेका छन् ।
यही बीचमा वरियता विवादले असन्तुष्ट रहेका गृहमन्त्री निधि राजीनामा दिने मनस्थितीमा पुगेका हुन् । उनले केही दिनभित्रै राजीनामा दिने स्रोतको भनाई छ ।
यता प्रधानमन्त्री प्रचण्डले वरिष्ठ उपप्रधानमन्त्री तपाई नै हो भनेर निधिलाई आश्वासन दिने गरेका छन् । तर, राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई आन्तरिक रुपमा वरिष्ठ उपप्रम बनाउने प्रचण्ड र देउवाबीच सहमति भएको सूचना पाएपछि निधि रुष्ट बनेका हुन् ।
यता राप्रपा अध्यक्ष थापाले आफूलाई वरिष्ठ उपप्रधानमन्त्री नबनाए सरकार छाड्ने धम्की दिँदै आएका छन् । जसकारण प्रधानमन्त्री प्रचण्ड आफ्नो सरकार जोगाउन भएपनि थापालाई वरिष्ठ उपप्रम बनाउन बाध्य भएको बताइन्छ ।